अमेरिकामा ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन
काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशैभर विरोध प्रदर्शन भइरहेको छ । बीबीसीका अनुसार दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो ।

अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। जसलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
ट्रम्पले विश्वका धेरै देशका सामानमा चर्को भन्सार शुल्क लगाएपछि अमेरिकाबाहिर पनि लन्डन, पेरिस र बर्लिनजस्ता विश्वका विभिन्न सहरमा विरोध प्रदर्शन भएका छन् । अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीविरुद्ध अध्यागमनसम्बन्धी छापा मारेका कारण विरोध गरिरहेको बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
हालै अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीलाई गिरफ्तार गरी उनीहरूलाई देश निकाला गरिएको थियो । डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए ।
भाषणमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूको आलोचना गरिएको थियो। जसमध्ये सबैभन्दा प्रमुख नाम राष्ट्रपतिको सल्लाहकार तथा सरकारी खर्च घटाउने विभागको नेतृत्वकर्ता इलोन मस्कको थियो ।



