प्रसाई कार्यक्रमस्थल पुग्नुअघि नै प्रहरीले अश्रुग्याँस बर्षायो,सरकारले उनैलाई दोष देखायो

प्रसाई कार्यक्रमस्थल पुग्नुअघि नै प्रहरीले अश्रुग्याँस बर्षायो,सरकारले उनैलाई दोष देखायो
  • २३ चैत्र २०८१, आईतवार १८:५०

काठमाडौं– चैत १५ मा व्यवस्था उल्टाउने भन्दै प्रदर्शनमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूको प्रदर्शनस्थल तीनकुनेमा अचानक राष्ट्रिय गानको धुन सुनियो । राष्ट्रिय गान बज्न थालेपछि सुरक्षाकर्मीहरूले प्रहार गरेको अश्रुग्याँस मञ्चमा खस्यो । यस विषयमा विस्तारै प्रहरीले नै खुलाउन थालेका छन् ।

राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको आन्दोलन हिंसात्मक बनेपछि त्यसको छानबिन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राखेका धारणामा मतैक्य देखिन सकेको छैन ।

तीनकुनेमा खटिएका प्रहरीका अनुसार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँ तीनकुने पुग्नुअघि नै सन्तोष राजावादी र पशुपति खड्काले प्रदर्शन स्थलमा ‘भिडन्त’सुरु गरेको प्रहरीको विश्लेषण छ । खड्का शाही युवा शक्ति नेपालका अध्यक्ष हुन् ।

प्रहरीले आफ्नो कमजोरी लुकाउन मञ्चमा नसुनिएको राष्ट्रिय गानको धुन राखेर अश्रुग्याँस खसेको जस्तो देखिने भिडियो बनाएर प्रचार गरेको जिकिर गरेको छ । तर, त्यस दिन मञ्चमै खटिएका सादा पोसाकका एक जना जुनियर प्रहरी अधिकृत भन्छन्, ‘अराजक भिड नियन्त्रण गर्ने क्रममा मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि सभा बिथोलियो । त्यसपछि, प्रदर्शनकारी थप तोडफोडमा उत्रिएका हुन् ।’

प्रसाई फन्दामा मात्र परेको उनको दाबी छ । प्रधानमन्त्री र गृहमन्त्रीले नै कार्यक्रम विथोल्न निर्देशन दिएको उनले जानकारी दिए ।
तर प्रधानमन्त्री र गृहमन्त्रीले भने प्रसाईलाई मात्र दोष लगाइरहेका छन् । अहिले यसको आलोचना समेत भइरहेको छ ।

दुर्गा प्रसाईँ तीनकुने पुग्दा प्रहरीले खड्का र सन्तोषको समूहलाई अश्रुग्याँस प्रहार गर्नुपर्ने अवस्था आइसकेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘त्यस दिन सुरुदेखि नै सन्तोष राजावादी र पशुपति खड्काले भिडन्त सुरु गरेका हुन् ।’

सन्तोष राजावादी र पशुपति खड्काले नेतृत्व गरेको समूहले सुरुमै बागमती पुलमा पुगेर मुठभेड थालेको अधिकृतहरू बताउँछन् ।

मञ्चमा राष्ट्रिय गान बजेको कुरा उपाध्यक्ष रवीन्द्र मिश्रले पनि हिरासतमा प्रहरी अधिकृतहरूसँग स्वीकार गरेका छन् । राष्ट्रिय गान बज्न थालेपछि प्रहार गरिएको अश्रुग्याँसका कारण मिश्रले नै नवराज सुवेदीलाई मञ्चबाट ओरालेर सुरक्षित स्थलमा पठाएका थिए ।

सामाजिक सञ्जालमा अपलोड भएका थुप्रै भिडियोले मिश्रको दाबीलाई पुष्टि गर्छ । त्यसपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरा र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का संयोजक दुर्गा प्रसाईँ त्यहाँबाट मञ्च छाडेर हिँडेको भिडियोमा देखिन्छ । त्यसबेला मञ्चमै रहेका प्रत्यक्षदर्शीहरूले पनि सो तथ्यलाई स्वीकार गरेका छन् ।

पत्रकार सुरेश रजकले भिडियो खिचेको र पछि आगजनी गरिएको घरबाट अश्रुग्याँस प्रहार गरिएको आरोप चाहिँ फिल्डमा खटिएका अधिकृतहरू पनि अस्वीकार गर्छन् । भिड नियन्त्रणमा खटिएका एक जना अधिकृतले भने, ‘घरबाट अश्रुग्याँस प्रहार गरेको होइन तर, मञ्च नजिकै खटिएकाहरूले ग्याँस गनबाट प्रहार गरेको अश्रुग्याँस मञ्चमा गएर खस्यो ।’

अश्रुग्याँस माथितिर ताकेर तल खस्ने गरी हानिने अधिकृतहरू बताउँछन् ।

तीनकुनेमा १२ बजेर ५० मिनेटमा प्रहरीले पहिलो पटक अश्रुग्याँस प्रहार गरेको थियो । दुर्गा प्रसाईँले १ बजेर २३ मिनेटमा घेरो तोडेपछि प्रदर्शन थप अनियन्त्रित बनेको प्रहरीको निष्कर्ष छ । भिड नियन्त्रण गर्न प्रहरीले त्यस दिन ७४६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले २ बजेर ५४ मिनेटमा गोली चलाएको थियो । प्रहरीको तर्फबाट ८१ वटा जंगी राउण्ड र २ राउण्ड पेस्तोलबाट फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

मध्यान्ह २ बजेर ५ मिनेटमा प्रहरीको एउटा समूहलाई ट्रयापमा पारेर आक्रमण गरिएको डीआईजी दिनेश आचार्यले बताए । उनले भने, ‘प्रहरीको एउटा समूहलाई इँटा हानेर ज्यान लिन खोजेको अवस्था थियो तर, प्रहरी संयम भएको छ ।’