निलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं– नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले पाएकी छिन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई कामुको जिम्मेवारी दिएको हो । आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ। मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिए पनि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो ।
नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन्। उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो । राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ ।