लगानीकर्ताको खुसी तीन दिन पनि टिकेन शेयरबजारमा ३२.३५ पहिरो

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरबाट महाप्रसाद अधिकारी बाहिरिँदा केक काटेर खुसियाली मनाएका लगानीकर्ताको खुसी तीन दिन पनि टिकेन । साताको पहिलो कारोबार भएको दिन सोमबार शेयरबजारमा ३२.३५ पहिरो गएको छ ।
बजारमापक परिसूचक नेप्से ३२।३५ अंकले घटेर २६७०।९४ को बिन्दुमा आइपुगेको छ । सोमबार बजार घट्नुको कारण नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मा निलम ढुंगानालाई दिएपछि भएको केही बजार बिश्लेषकले बताएका छन् ।
वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका छन्।
बजार सुरु भएको केही मिनेटमा सामान्य अंकले बढेको बजार कारोबार बन्द हुँदा घटेको हो । यसदिन कारोबारमा आएका २ सय २१ कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्ताले ठूलो रकम गुमाएका छन् ।
आज बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने बजारमा हल्ला चलेपनि कामु नियुक्त गरेकाले लगानीकर्ता लगानी सुरक्षित गर्न लागेका केही विष्लेषकको दावी छ । देशको वित्तीय संस्थाको प्रमुख नियमक निकाय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति नगरेर कामु गभर्नर नियुक्ती गरेपछि राजनीतिक भागबण्डा नटुङ्गिएको बुझेका लगानीकर्ता नाफा बुक गर्न तिर लागेको देखिएको छ ।