चौतर्फी दवाव पछि शिक्षकलाई वार्तामा आउन प्रधानमन्त्रीको आव्हान

काठमाडौं । आन्दोलन रत शिक्षकहरुलाई बार्तामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेका छन् । सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्ने क्रममा उनले शिक्षकहरूलाई सडकमा दुःख नपाउन र आन्दोलन नगरी कुराकानीबाट समाधान खोज्न आह्वान गरेका हुन्।
विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ‘सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरिनु, तर यही बिचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेश मार्फत जारी गर्न सक्ने सरकारले शिक्षकहरूको मागप्रति सरकार उदासीन रहेको आरोप लगाएको थियो ।
यता सत्तारुढ दल नेपाली कांग्रेसको शिक्षा विभागबाट समेत शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेकोले र नेपाल शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमतिका आधारमा प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकहरूसँग वार्ता र संवाद गर्नुपर्ने विज्ञप्ती जारी गरेको थियो ।
चौतर्फी दवावका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनप्रति टिप्पणी गर्दै जायज माग लिएर वार्तामा आए सम्बोधन गर्न तयार रहेको बताएका छन्।
उनले भने ‘शिक्षक आन्दोलन चलिरहेको छ, किन चलाउनुभएको छ मलाई थाहा छैन म प्रधानमन्त्री छु, सडकमा गएर सुत्नु नपर्ने र दुख नपाउने गरि संवाद गर्न चाहेकोले कुरागरेर समाधान गरौं’।