राप्रपाको बल्खुमा सभा, दुईहजार बढी प्रहरी परिचालन हुने

राप्रपाको बल्खुमा सभा, दुईहजार बढी प्रहरी परिचालन हुने
  • २४ चैत्र २०८१, सोमबार १९:१७

काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा गर्ने जुलुस र सभामा २ हजार बढी प्रहरी परिचालन गरिने भएको छ ।


विभिन्न जिल्लाहरुबाट ठुलो संख्यामा सभामा भाग लिन आउने राप्रपाले दाबी ग रिरहँदा सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी सादा पोशाक, बर्दीका प्रहरी, शसस्त्र प्रहरी परिचालिन हुने जिल्ला प्रहरी परिसरले जनाएको छ ।
राप्रपाले गर्ने सभामा कमल थापा नेतृत्वको राप्रपा नेपाल, जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपालले समेत समर्थन जनाउँदै आफ्ना कार्यकर्तालाई सभामा भाग लिन अनुरोध गरेका छन् ।


राप्रपाले भृकुटी मण्डपमा सभा गर्ने अनुमति मागे पनि जिल्ला सुरक्षा समितिले सुरक्षा विश्लेषण पश्चात बल्खु क्षेत्रमा सभा गर्ने अनुमति दिएको छ ।


राप्रपाले उपत्याकाका विभिन्न स्थानबाट जुलुस आएर बल्खुमा सभामा परिणत हुने र सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्वोधन गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त सभा मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।


राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।
यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।
१५ गते तिनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा सुरक्षा कमजोरी रहेको र प्रहरीमाथि दमन गरेको आरोप लागिरहेको बेला बल्खुमा हुने सभालाई प्रहरीले त्यस्ता कमीकमजोरी हुन नदिन विशेष सतर्कता अपनाउने समेत जनाएको छ ।