Close

Recent Posts

ओलीले निलम र देउवाले रवीन्द्रको अडान नछाडेपछि गभर्नर नियुक्ति भएन

ओलीले निलम र देउवाले रवीन्द्रको अडान नछाडेपछि गभर्नर नियुक्ति भएन
  • २५ चैत्र २०८१, मंगलवार १०:४१

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल सकिनु एक महिना अघिनै नियुक्ति भइसक्नुपर्ने व्यवस्था छ । तर सत्ता सहयात्री काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारमा अडान राख्दा आज पनि गभर्नर नियुक्ति हुन सकेन ।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न झन्डै १ दर्जनले आकाङ्क्षा देखाएको भए पनि मूलतः डा. निलम ढुङ्गाना र राष्ट्र बैंककै सञ्चालक रहेका डा. रवीन्द्र पाण्डे देखिएका छन् । ढुङ्गाना एमाले कोटाबाट छिन भने पाण्डे काँग्रेस कोटाबाट रहेका छन् ।

दुई नेताको सहमति नजुट्दा अहिले गभर्नर बन्ने साझा चरित्रको व्यक्तिको खोजी सुरु भएको चर्चा पनि बालुवाटारमा चलेको छ । गभर्नरको विषयलाई लिएर प्रधानमन्त्री ओली र देउवाबिच छलफल भइरहेको भए पनि निकास निस्केको छैन ।

यद्येपी गभर्नर बन्न राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट राजीनामा दिएर बसेका डा. प्रकाश कुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लागिपरेका छन् । उनीहरूको दाबीलाई पनि कमजोर आँक्न मिल्दैन ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थाइल्यान्ड जानु अघिनै गभर्नर नियुक्ति गर्न चाहेका थिए । गत बुधवारको मन्त्रीपरिषद् बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले एक्कासि पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने अडान राखेपछि प्रधानमन्त्री ओली झस्किएका छन् ।

धेरैले आज सोमबारको मन्त्रीपरिषद् बैठकले गभर्नरको नियुक्ति हुने अनुमान गरेका थिए । यद्येपी आज सोमबारदेखी गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर बिदा भैसकेका छन् । सरकारले वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुङ्गानालाई कामुको जिम्मेवारी दिइसकेको छ ।

गभर्नर नियुक्तिमा अहिले सक्ता सहयात्री काँग्रेसले आफू पाउनुपर्ने अडान राखेपछि प्रधानमन्त्री ओलीले यसलाई लम्ब्याएका छन् । प्रधानमन्त्री ओली केही समय कुरेर अर्को कुनै संवैधानिक नियुक्ति काँग्रेसलाई दिएर गभर्नर आफ्नो पक्षका व्यक्तिलाई नियुक्ति दिने तयारीमा छन् ।

गभर्नर छनोट समितिमा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्सीय समिति बनेको छ । समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र विज्ञको तर्फबाट डा. विश्व पौडेल रहेका छन् ।

प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबिच कसलाई गभर्नर बनाउने भन्ने सहमति नजुटेकाले समितिमा हालसम्म कुनै छलफल भएको छैन । समिति सदस्य पौडेल केही दिन विदेश जाने कार्यसूची रहेकाले तत्काल राष्ट्र बैंकले गभर्नर पाउने सम्भावना छैन ।