बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता

काठमाडौं– राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन् । सो पार्टीलाई बागमती प्रदेशस्तरीय सभाका लागि प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन् ।
बल्खु चोकमा आयोजना गरिएको आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनकारी दिए । दिउँसो १२ बजेबाट आमसभा सुरु हुने भएकाले साढे ११ बजेसम्म कार्यक्रमस्थल पुगिसक्न राप्रपाले अपिल गरेको थियो ।
प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ । राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको सो पार्टीले अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने बताउँदै आएको छ ।
यसअघि फागुन १५ मा राजवादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको थियो । आजको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा रणनीति सोही अनुसार बनाएको छ ।