तीनकुने घटनामा प्रसाई होइन, प्रधानमन्त्री, गृहसहित आईजीपी थापा दोषी भएको लिङ्देनको आरोप

तीनकुने घटनामा प्रसाई होइन, प्रधानमन्त्री, गृहसहित आईजीपी थापा दोषी भएको लिङ्देनको आरोप
  • २५ चैत्र २०८१, मंगलवार १६:३८

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा राज्यको तर्फबाट हिंसा भड्काइएको बताएका छन् । पूर्वराजाको समर्थनमा भएको तीनकुनेको प्रदर्शनका मुख्य अगुवा दुर्गा प्रसाईलाई दोष देखाएर सरकारले आफु जोगिन खोजेको उनले आरोप लगाएका छन् ।

mulpatra

मंगलबार बल्खुमा आयोजित विरोध सभामा उनले भने, ‘तपाईँलाई किचौँला जस्तो गरेर आएका दुर्गा प्रसाईँलाई तपाईँले पक्राउ गर्न सक्नुहुन्थ्यो तर, उनलाई ढुक्कले निकालेर पठाउनुभयो ।’ प्रसाई आफनो सुरक्षाका लागि भाग्नु भएको भनेर सुनुवाईमा आएको लिङ्देनको दाबी छ । प्रसाईँलाई ढुक्कले पठाएर प्रहरीले मञ्चमा भाषण गरेर बसेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई अश्रुग्याँस बर्साएको लिङ्देनले बताए ।

लिङ्देनले आईजीपी दीपक थापालाई युवा संघको ‘सह अध्यक्ष’ बनेको आरोप लगाए । ‘अश्रुग्याँसको सेलका बोक्राहरूमा मिति गएको लेखिएको कुरा नक्कली हो ?’ प्रश्न गर्दै लिङ्देनले भने,‘प्रहरी प्रमुखले एमालेको भातृ संगठनको सदस्य भएर बोलेका छन्, प्रहरी कुनै दलको भातृ संगठन भएर बस्ने होइन ।’

mulpatra mulpatra mulpatra

नेपाल प्रहरीलाई प्रहरी नै भएर बस्न उनले आग्रह गरेका छन् । तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न उनले माग गरे । उनले भने, ‘फरक मत राखेकै कारण हाम्रा नेताहरूलाई हिरासतमा अपमानजनक रूपमा राखेकोलाई हामीले इखको रूपमा लिएका छौँ ।’

राप्रपाका उपाध्यक्ष मिश्रलाई हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाएको उल्लेख गर्दै लिङ्देनले सरकारको त्यो व्यवहारलाई इखको रूपमा लिएको बताए । उनले भने, ‘राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने हामी लाखौँ थुनिन तयार छौँ ।’

गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

Image Source: © https://mulpatra.com

त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको जनाएको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ । उनले तीनकुने घटनामा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषीरहेको आरोप लगाएका छन् ।