भारतमा प्रसाई पक्राउ परेका होइन, उनले आफनो सुरक्षाका आत्मसमर्पण गरेको सचिवालयको दाबी
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको पक्राउ प्रकरणलाई लिएर प्रहरी प्रक्रियागत झमेलामा परेको छ । भारतमा पक्राउ परेको समाचार मिडियामा लिक भएपछि प्रहरीलाई अप्ठेरो परेको हो । तर प्रसाईलाई भारत प्रहरीले पक्राउ गरेको होइन ।

उनको सचिवालयका अनुसार आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । तर नेपालमा भने प्रसाईलाई पक्राउ गरेको भन्दै मिथ्या समाचार लेखिएको प्रसाईको सचिवालयको आरोप छ ।
नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले कानूनतः एक अर्को देशका नागरिकलाई पक्राउ र हस्तान्तरण गर्न मिल्दैन । यद्यपि आपसी समन्वयमा अनौपचारिक तवरबाट यस्तो कार्य हुँदै आएको छ । दुर्गा प्रसाईँलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरिरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
राजावादी प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका दुर्गा प्रसाईँ फरार बनेका थिए । उनले आफू नेपालमै रहेको दाबी गरे पनि भारतमा लुकेको सूचनाका आधारमा प्रहरीले पक्राउको रणनीति बनाएको थियो ।
गए राति विभिन्न सञ्चारमाध्यममा प्रसाईँलाई भारतबाट पक्राउ गरी नेपालतर्फ ल्याइँदै गरेको समाचार प्रवाहित भयो । ती समाचारले अप्ठेरो परेपछि राति नै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेर खण्डन ग¥यो ।
प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा प्रसाईँलाई पक्राउ गरेको भन्न सकेको छैन । समाचारले नेपाल प्रहरीलाई मात्र नभई सरकारलाई समेत अप्ठ्यारोमा पारेको प्रहरी स्रोतले जनाएको छ ।
Image Source: © https://mulpatra.com
एक देशका अपराधी अर्को देशमा लुके वा भागेको अवस्थामा पक्राउ गर्नका निम्ति सुपुर्दगी सन्धि आवश्यक पर्छ । सुपुर्दगी सन्धिबिना नेपाल प्रहरीले प्रसाईँलाई भारतमा पक्राउ गर्न सक्दैन । एक देशको प्रहरीले अर्को देशमा रहेका कोही व्यक्तिलाई सीधै पक्राउ गर्ने अधिकार पनि कानुनतः राख्दैन ।
सुपुर्दगी सन्धि नै भएको भए पनि मानिसको लेनदेनमा कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । तीमध्ये कुनै पनि प्रक्रियामा पूरा नभएको अवस्थामा मानिस पक्राउको विषयलाई गैरकानूनी मानिन्छ । यद्यपि एक अर्को देशको सीमाभित्र पक्राउ परेका अपराधी र अभियुक्तलाई यहाँको नेपाल र भारतका प्रहरीले सुटुक्क हस्तान्तरण गर्ने गरेका छन् ।
एक देशका अपराधी अर्को देशमा लुकेको अवस्था त्यस्तो काम हुने गरे पनि दुवै पक्षले त्यसलाई आधिकारिक रूपले स्वीकार गर्दैनन् ।
‘यदि पारस्परिक समझदारीका आधारमा प्रसाईँलाई हामीले भारतमै समातेको हो भने पनि त्यस्तो समाचार बाहिर आउँदा त्यसले भारतीय पक्षलाई पनि अप्ठ्यारोमा पार्छ’, केन्द्रीय प्रहरीका एक उच्च अधिकृत भन्छन्, ‘त्यसरी पक्राउ परेको व्यक्तिलाई भारतले नेपालमा ल्याउन नदिन पनि सक्छ, यस्तो कुराले आजलाई मात्रै हैन भोलिका दिनमा पनि काम गर्न अप्ठ्यारो पार्छ ।’



