प्रसाईंविरुद्ध १२ दिन म्याद, क्यान्सरको रोगी भएकाले उपचारको प्रबन्ध मिलाउन निर्देशन
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले मिलान गरेको हो । सोही अनुसार अदालतले म्याद थपेको जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए । चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ।
![]() |
![]() |
![]() |
|---|
प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो ।



