काठमाडौंमा यी सार्वजनिक स्थानमा विश्वकप उद्घाटन खेल हेराउने तयारी
काठमाडौं । फिफा विश्वकप–२०२६ को उद्घाटन खेलसँगै काठमाडौं उपत्यकामा फुटबलमय माहोल सुरु भएको छ । विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गर्न विभिन्न क्लब, लाउन्ज, रेस्टुरेन्ट तथा सार्वजनिक स्थलहरूले तयारी पूरा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर केही स्थानमा ठूलो पर्दामार्फत सर्वसाधारणलाई खेल हेर्ने व्यवस्था मिलाइएको छ।काठमाडौं प्रहरी परिसरका अनुसार बिहीबार दिउँसोसम्म गौरीघाट, स्युचाटार, गोकर्णेश्वर बेँसीगाउँ, लाजिम्पाट, नयाँ बानेश्वर, बुढानीलकण्ठ र गैरीधारामा सार्वजनिक रूपमा उद्घाटन खेलसहित विश्वकपका खेलहरू प्रदर्शन गर्न अनुमति जारी गरिएको छ ।
यी स्थानमा ठूलो स्क्रिन तथा प्रोजेक्टरमार्फत फुटबल समर्थकहरूलाई सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिँदैछ। प्रहरीले विश्वकपको उत्साहलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष निगरानी बढाएको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
आयोजकहरूलाई भीड व्यवस्थापन, पार्किङ, ध्वनि प्रदूषण नियन्त्रण तथा सार्वजनिक सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । फुटबल हेर्ने नाममा सडक अवरोध, अत्यधिक होहल्ला वा स्थानीय बासिन्दालाई असर पुग्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।
यसैबीच, ठमेल क्षेत्रका दर्जनौं क्लब, लाउन्ज र रेस्टुरेन्टले पनि विश्वकप उद्घाटन खेल प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेका छन् । प्रहरी प्रशासनले सट्टेबाजी, अनलाइन बेटिङ तथा अन्य अवाञ्छित गतिविधिमाथि कडा निगरानी राखिने जनाएको छ । विश्वकप अवधिभर काठमाडौंमा फुटबलको उत्साह बढ्ने अपेक्षा गरिए पनि कानुनको पालना गर्दै उत्सव मनाउन प्रशासनले सबैलाई आग्रह गरेको छ।



