Close

Recent Posts

वीरगञ्जमा दुई समुदायबीच झडप, कर्फ्यु आदेश जारी

वीरगञ्जमा दुई समुदायबीच झडप, कर्फ्यु आदेश जारी
  • २९ चैत्र २०८१, शनिबार १९:५१

काठमाडौं । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि पर्सा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार शनिबार साँझ ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको हो। कर्फ्यु वीरगञ्ज महानगरका भेडियानी चोक (पूर्व), सिर्सिया पुल (पश्चिम), गण्डक चोक (उत्तर) र शंकराचार्य चोक (दक्षिण) सम्मका क्षेत्रलाई लक्षित गरी लगाइएको छ।

शनिबार दिउँसो वीरगञ्ज-२ स्थित श्रीराम हल नजिक शोभायात्रा मस्जिद अगाडि पुगेपछि विवाद सुरु भएको थियो। आरोपअनुसार मस्जिदबाट ढुंगामुढा भएको भन्दै शोभायात्रामा सहभागीहरूले पनि प्रतिकार गरेपछि स्थिति झडपमा परिणत भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ४६ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर गर्नुका साथै १ हजार सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए। झडपमा प्रहरीसहित सशस्त्र प्रहरीका कम्तीमा ८ जना घाइते भएका छन्।

घटनाका विस्तृत विवरणहरू आउन बाँकी रहेको प्रशासनले जनाएको छ। वीरगञ्जमा हनुमान जयन्तीको दिन अघिल्ला वर्षहरूमा पनि तनाव उत्पन्न हुने गरेको बताइएको छ।