कांग्रेस भित्र चर्किँदो असन्तुष्टि, उच्च स्तरीय संयन्त्र प्रभावहीन बन्दै
काठमाडौं – सरकारले विवादास्पद निर्णय गर्दै जाँदा सत्तारूढ दल नेपाली कांग्रेसभित्रको असन्तुष्टि सतहमा आउन थालेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दुई प्रभावशाली कांग्रेस नेताको अनुपस्थितिका कारण औपचारिकतामा मात्र सीमित भयो।

संयन्त्रका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का स्वास्थ्य कारणले अनुपस्थित भएको भनिए पनि महामन्त्री गगन थापा जानाजान बैठकबाट अलग भएको संकेत देखिएको छ। उनी काठमाडौं फर्किसकेपछि पनि बैठकमा नपुगी मोबाइल अफ राखेर बसेको पुष्टि भएको छ।
कांग्रेसको नेतृत्व तहमा रहेका गगन थापा, विश्वप्रकाश शर्मा, र शेखर कोइरालालगायत नेताहरूले सरकारका पछिल्ला निर्णय राष्ट्र बैंकको गभर्नर नियुक्ति, एआईजी बढुवा, र शिक्षा विधेयकको ढिलाइजस्ता विषय प्रति तीव्र असन्तुष्टि जनाएका छन्।
![]() |
![]() |
![]() |
|---|
शिक्षक आन्दोलन चर्किरहेका बेला, सभामुख देवराज घिमिरेको शिक्षा विधेयक प्राथमिकतामा नपर्ने अभिव्यक्तिले कांग्रेसभित्र असन्तोष थप चर्काएको हो। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक अघि छुट्टै संवाद भए पनि त्यसको परिणाम संयन्त्रमा प्रभावकारी रूपमा झल्किन सकेन।
यता, गृहमन्त्री रमेश लेखकले भने सत्तारूढ दुई प्रमुख दलबीच कुनै गम्भीर समस्या नरहेको दाबी गरे। तर लगातार असहमतिका आवाज सार्वजनिक रूपमा कांग्रेस नेताहरूबाट आउनु सरकारको सन्तुलनप्रति प्रश्न उठ्न थालेको संकेत हो।
गत पुसमा कांग्रेस र एमालेको सहकार्यमा गठित उच्चस्तरीय संयन्त्र सरकारका प्रमुख नीतिगत निर्णयहरूमा समन्वय गराउने उद्देश्यले बनाइएको थियो। तर पछिल्ला घटनाक्रमले संयन्त्र राजनीतिक सल्लाहभन्दा बढी औपचारिकता पूर्तिमा सीमित हुन थालेको देखिन्छ।
Image Source: © https://mulpatra.com
विश्लेषकहरू भन्छन्, “संयन्त्रले प्रभावकारिता देखाउन नसक्ने हो भने यो सरकारभित्रको असहमतिको व्यवस्थापन असम्भव बन्न सक्छ, जसको दीर्घकालीन असर सरकारको स्थायित्वमा पर्नेछ।”



