कक्षा १२ को परीक्षा सञ्चालन गरे शक्ति देखाइदिने शिक्षकहरूको चेतावनी
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने वा नहुनेमा अन्योल थियो । त्यही अन्योलबिच बोर्डले परीक्षा नरोक्ने र तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।
बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
उनले भने ‘परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ ।’
शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधिबिच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन ।
बोर्ड बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष शर्माले परीक्षाको वातावरण बनाउन शिक्षकहरूलाई फेरि अनुरोध गर्ने निर्णय भएको बताए ।
Image Source: © https://mulpatra.com
कक्षा १२ को परीक्षाका लागि यसअघि नै परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थीहरू पनि समयमै परीक्षा होस् भन्ने चाहेको बताउँदै अध्यक्ष शर्माले शिक्षक महासंघ, शिक्षकहरू, अभिभावकहरू, जिल्ला परीक्षा समन्वय समितिलाई परीक्षाको वातावरण बनाउन अनुरोध गरिएको बताए ।
बोर्ड बैठकमा प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाएर परीक्षा चलाउन सकिनेमा जोड दिइएको थियो ।
सबै शिक्षकहरू आन्दोलनमा नआएको भन्दै उपलब्ध शिक्षकहरूलाई समेत परिचालन गर्न सकिने भन्ने विषयमा छलफल भएको थियो । जिल्लामा उपलब्ध शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक तोक्ने र शिक्षकहरू उपलब्ध नभए निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्नुपर्ने विषयमा बोर्ड सदस्यहरूबीच छलफल भएको थियो ।
सरकारले जसरी भए पनि परीक्षा गर्ने तयारी गरेपछि २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले भने देखाइदिने चेतावनी दिएका हुन् ।



