Close

Recent Posts

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा, होर्मुज जलमार्ग खोलिने

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा, होर्मुज जलमार्ग खोलिने
  • १ असार २०८३, सोमबार ०९:४८

काठमाडौं– फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ ।

mulpatra

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्रुथ सोसलमार्फत इरानसँग सम्झौता भएको बताएका छन् । यस्तै, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत सम्झौता भएको पुष्टि गरेका छन् ।

वार्ताको मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वक्तव्य जारी गर्दै सम्झौता सम्पन्न भएको जानकारी दिएका छन् ।

mulpatra mulpatra mulpatra

यसैबीच बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने बताएका छन् ।

सम्झौताका प्रमुख मध्यस्थमध्ये एक रहेका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेखेका छन्, ‘लामो वार्तापछि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्न पाउँदा हामी खुशी छौं । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन् ।’

सम्झौताको घोषणा भएपछि एसियाली बजारमा तेलको मूल्य घटेको छ । साथै विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलघाँटी पुनः सञ्चालनको तयारी सुरु भएको बताइएको छ ।

Image Source: © https://mulpatra.com

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जी–७ शिखर सम्मेलनमा होर्मुज जलघाँटीलाई दीर्घकालीन रूपमा खुला राख्ने विषयमा छलफल हुने बताएका छन् ।

कसरी भयो सम्झौता ?

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीका अनुसार कतारी मध्यस्थकर्ताहरूले तेहरानमा अमेरिका र इरानबीच समझदारीपत्र (एमओयू)को मस्यौदामा सहमति जुटाउन करिब १४–१५ घण्टा लामो वार्ता गराएका थिए ।

उनले अन्तिम सम्झौतासम्बन्धी वार्ता आगामी ६० दिनभित्र हुने जानकारी दिँदै इरानको मुख्य प्राथमिकता आफूहरूमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनु रहेको बताए ।

घरिबाबादीका अनुसार आइतबार तेहरानमा कतारको प्रतिनिधिमण्डल उपस्थित भई ‘इस्लामाबाद समझदारीपत्र’ को मस्यौदा अन्तिम रूप दिन सहयोग गरेको थियो ।

डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा होर्मुज जलघाँटी स्थायी रूपमा शुल्कमुक्त रहने सुनिश्चित भएको बताएका छन् । साथै इरानसँग अन्तिम आणविक सम्झौता हुन नसके अमेरिका पुनः सैन्य कारबाहीमा जान सक्ने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो उत्कृष्ट सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति र सुरक्षा ल्याउनेछ ।’ शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि जलघाँटी खुल्नेछ, समुद्री बारुदी सुरुङ हटाइनेछ र विश्व बजारमा तेलको निर्बाध आपूर्ति पुनः सुरु हुने ट्रम्पले जनाएका छन् ।

अर्कोतर्फ इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्रको मस्यौदा तयार भएको छ । यद्यपि बुँदाहरूको आधिकारिक पुष्टि भने अहिलेसम्म कुनै पक्षले गरेको छैन ।

अर्धसरकारी समाचार संस्था मेहरका अनुसार अन्तिम वार्ता सुरु हुनुअघि इरानको रोक्का गरिएका सम्पत्तिको कम्तीमा आधा हिस्सा फुकुवा गरिनुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध निलम्बन गरिनुपर्ने तथा नौसैनिक नाकाबन्दी हटाइनुपर्ने सर्त राखिएको छ ।

रिपोर्टअनुसार अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिने योजना छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com