Close

Recent Posts

रघुजी पन्त नियुक्त भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

रघुजी पन्त नियुक्त भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
  • १० बैशाख २०८२, बुधबार २०:४०

काठमाडौँ ।​ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का वरिष्ठ नेता रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।​

mulpatra

यसअघि शिक्षामन्त्री रहेकी विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। पन्तको नियुक्ति संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।​

रघुजी पन्तको पृष्ठभूमि

रघुजी पन्तको पृष्ठभूमि पत्रकारितासँग जोडिएको छ। उनले २०३२ सालदेखि पत्रकारिता सुरु गरेका थिए। बुधबार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार महासंघमा समेत काम गरेका उनले २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीका प्रेस सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए।​

राजनीतिमा सक्रिय हुँदै पन्त २०५४ सालको नेपालगञ्ज महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य बने। २०५६ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनले पार्टीमा केन्द्रीय संस्कृति, जल तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए। २०६१ सालमा श्रम तथा यातायात मन्त्री बनेका पन्त २०६३ को पुनर्स्थापित संसदमा सदस्य थिए। हाल उनी पार्टीको संस्कृति विभाग प्रमुख छन्। २०७९ मंसिरको चुनावबाट उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका छन्।