Close

Recent Posts

सर्वोच्च अदालतको आदेश: आन्दोलनरत शिक्षकहरू तीन दिन भित्र विद्यालय फर्कने वातावरण बनाउ

सर्वोच्च अदालतको आदेश: आन्दोलनरत शिक्षकहरू तीन दिन भित्र विद्यालय फर्कने वातावरण बनाउ
  • ११ बैशाख २०८२, बिहीबार २०:४६

काठमाडौं । सर्वोच्च अदालतले हाल आन्दोलनमा रहेका शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार जारी गरेको अन्तरिम आदेशमा शिक्षकहरूको संविधानसम्मत मागहरू तुरुन्त सम्बोधन गर्न सरकारलाई निर्देशन दिइएको छ।

mulpatra

आदेशमा भनिएको छ, “आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू।”

यो आदेश अधिवक्ता श्रवणकुमार चौधरीद्वारा चैत १० गते दायर रिटको सुनुवाइपछि जारी गरिएको हो। चौधरीले शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्योलमा पारिएको भन्दै पठनपाठनको वातावरण पुनः स्थापनाको माग गर्दै रिट दायर गरेका थिए।

अदालतले पाँच बुँदामा अन्तरिम आदेश जारी गर्दै बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने, एसईईको नतिजा समयमा प्रकाशन हुन दिने, कक्षा १२ को परीक्षा तोकिएको समयमा सम्पन्न हुने सुनिश्चित गर्नेजस्ता निर्देशनसमेत दिएको छ। यद्यपि कक्षा १२ को परीक्षा हालै सम्पन्न भइसकेको छ।

शिक्षा मन्त्रालयले आदेशको कार्यान्वयन प्रगतिबारे १४ दिनभित्र सर्वोच्चमा प्रतिवेदन पेश गर्नुपर्नेछ। साथै, उक्त आदेशको जानकारी विपक्षी निकायहरूलाई गराउन पनि भनिएको छ।

शिक्षकहरू चैत २० गतेदेखि विभिन्न मागहरू राख्दै आन्दोलनरत छन्, जसका कारण देशभरका विद्यालयमा पठनपाठन प्रभावित भएको छ।