विद्यालय शिक्षा ऐनको मागमा शिक्षकहरू अडिग, सरकारसँगको वार्ता निष्कर्ष विहीन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधिहरूबीच भएको वार्ता कुनै ठोस सहमतिबिना टुंगिएको हो।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूले आफ्ना मागहरू स्पष्ट रूपमा राखेको र विद्यालय शिक्षा ऐनबारे कुनै सम्झौता नगर्ने अडान दोहोर्याएको बताए। “हामी वार्तामा गयौं, तर हाम्रो आन्दोलनको केन्द्रविन्दु नै नयाँ विद्यालय शिक्षा ऐन जारी गर्नु हो,” उनले भने, “यस विषयमा हामी टसमस हुँदैनौं।”
शिक्षामन्त्री पन्तले वार्तामा शिक्षकहरूको मागबारे जानकारी लिएको र सम्भव भएका विषयमा समाधान खोज्ने प्रयास गर्ने बताएका छन्। “तपाईंहरूको माग गम्भीर छन्, म बुझ्ने कोसिस गरिरहेको छु,” पन्तले भने, “जहाँसम्म सकिन्छ, सम्बोधनको प्रयास गरिनेछ।”
गत वर्षको चैत २५ देखि शिक्षकहरूले काठमाडौंमा चरणबद्ध आन्दोलन गर्दै आएका छन्। शुक्रबार साँझ सरकारद्वारा गठित वार्ता टोलीप्रति असहमति जनाउँदै केही शिक्षक प्रतिनिधि मन्त्रालयको गेटबाटै फर्किएका थिए। तर शनिबार बिहान भने महासंघका प्रतिनिधि मन्त्रालय पुगेका थिए।
वार्ताले कुनै ठोस समाधान नदिएपछि शिक्षक महासंघले आन्दोलन जारी राख्ने जनाएको छ। अध्यक्ष सुवेदीका अनुसार, “यो आन्दोलन सजिलो छैन, तर अब वार कि पारको अवस्थामा छौं।”
सरकार र आन्दोलनकारी शिक्षकबीच थप वार्ता हुने सहमति भए पनि अर्को बैठक कहिले हुने भन्ने टुंगो लागिसकेको छैन। यसैबीच, शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा र एसईई नतिजामा असर गर्ने चेतावनी समेत दिइएको छ। सर्वोच्च अदालतले समेत आन्दोलनले विद्यार्थीको पठनपाठनमा असर नपर्ने गरी तीन दिनभित्र विद्यालय फर्कन आदेश दिइसकेको छ।