Close

Recent Posts

आमा सम्झिँदै अमेरिकी नागरिक रेनाता

आमा सम्झिँदै अमेरिकी नागरिक रेनाता
  • १४ बैशाख २०८२, आईतवार १०:४७

काठमाडौं– जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाउनेहरुको काठमाडौंको मातातीर्थमा घुइँचो लागेको छ । त्यही घुइँचोमा छिन् अमेरिकी नागरिक रेनाता पनि । उनी आमा क्लाराको फोटो बोकेर मातातीर्थमा आएकी छन् ।

mulpatra

रेनाताले आफ्नो नामको पछाडि ‘राधा दासी’ पनि जोडेकी छन् । उनी भन्छिन्, ‘म जे छु मेरी आमाको कारणले छु । त्यसैले म आजको आमा सम्झिँदै यहाँसम्म आइपुगेकी छु ।’ मातातीर्थको महत्वबारे आफू जानकार रहेको बताउँदै उनले भनिन्, ‘यहाँ स्नान र पूजा गरे छोराछोरीमाथि दिवंगत आमाको आशीर्वाद रहीरहन्छ भन्ने मलाई थाहा छ ।’

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व हो ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ । यस दिन आमा भएकाहरुले बिहानै स्नान गरी आमालाई उपहार दिने, मनपर्ने खानेकुरा खान दिने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने काठमाडौंको मातातीर्थमा पुगेर त्यहाँको कुण्डमा स्नान गर्ने र पूजाआजा गर्ने गर्दछन् । मातातीर्थसम्म पुग्न नसक्नेहरु भने आफू अनुकूलको ठाउँमा पुगी श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् ।

mulpatra mulpatra mulpatra

आमाको सम्झनामा मातातीर्थको कुण्डमा गएर नुहाउने, त्यहाँ रहेको हरिहर (विष्णु र शिव) को पूजा र श्राद्ध गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । त्यसो गरे मातृऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कृष्ण शास्त्रीले भने ।

त्यसैले आज घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।

Image Source: © https://mulpatra.com