१७ अर्बभन्दा बढीको अवैध कारोबार : २१ जना पक्राउ
काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विशेष अपरेशन सञ्चालन गर्दै वैशाख ७ गतेदेखि १३ गतेसम्म विभिन्न ११ जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार पक्राउ परेकाहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेको खुल्न आएको छ।
पक्राउ पर्नेहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवनलगायतका जिल्लाका व्यक्ति छन्। उनीहरू भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलजस्ता कार्यबाट गैरकानुनी रूपमा संकलित रकमलाई डिजिटल वालेट कम्पनीहरूको माध्यमबाट कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, मनी ट्रान्सफर तथा डिजिटल वालेट कम्पनीहरूलाई प्रयोग गरी अवैध रूपमा इ–मनी बनाइ रेमिटेन्स वापत रकम भुक्तानी गरिन्थ्यो। नेपालमा आन्तरिक विप्रेषण सेवा बन्द भएपछि यस्ता अवैध गतिविधिहरू झन् मौलाएको देखिएको छ।
सिआइबीले हालसम्म १८ वटा कम्पनीमाथि अनुसन्धान थालेको छ भने पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ।
