Close

Recent Posts

दाउन्ने सडकखण्डमा वैशाख ३१ गतेसम्म राति सवारी आवागमन बन्द

दाउन्ने सडकखण्डमा वैशाख ३१ गतेसम्म राति सवारी आवागमन बन्द
  • १६ बैशाख २०८२, मंगलवार ०८:०७

काठमाडौं । बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ। यसअघि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर काम भइरहेको थियो। अब सो निर्णयलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइनेछ।

mulpatra

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, दाउन्ने क्षेत्रमा जारी सडक निर्माण कार्य अझ केही दिन आवश्यक परेकाले राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी रोक्ने निर्णय गरिएको हो। उनका अनुसार भित्तातर्फको कटिङ कार्य बाँकी रहेकाले वर्षा सुरु हुनु अघि काम सम्पन्न गर्न समय थपिएको हो।

यसअघि चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ बजेबाट ३ बजेसम्म र वैशाख १ गतेदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएर सडक सुधारको काम भइरहेको थियो। अहिले दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल निर्माण गर्ने र कल्भर्ट बनाउने काम तीव्र गतिमा भइरहेको छ। पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार, निर्माण कार्यलाई द्रुत बनाउन रातिको समय सदुपयोग गरिएको हो।

नारायणगढ–बुटवल सडकको कुल ११४ किलोमिटरमध्ये गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा सेवा मार्गसहितको सडक विस्तार भइरहेको छ। विशेष जोखिमयुक्त मानिएको दाउन्नेको १४ किलोमिटर क्षेत्रमा भने तीन लेनको सडक विस्तारको काम भइरहेकाे छ।

यस सडक विस्तारको ठेक्का चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो। १७ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सडकको काम निर्धारित समयमा सम्पन्न नहुँदा कम्पनीले अहिलेसम्म तीनपटक म्याद थपेको छ। हाल तेस्रो पटक थपिएको म्याद २०८२ साउन ८ गतेसम्म तोकिएको छ।