पूर्व विद्रोही नेताहरूबीचको सहकार्य : ‘नागरिक जनमत’ नामक नयाँ राजनीतिक शक्ति उदाउँदै

काठमाडौं । विगतमा फरक-फरक ढंगले विद्रोह र आन्दोलनको नेतृत्व गरेका दुई नेताहरू सिके राउत र रेशम चौधरी द्वारा नेतृत्व गरिएको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज बुधबार पार्टी एकताको घोषणा हुँदैछ। भूतपूर्व विद्रोहीहरूबाट मूलधारको राजनीतिमा रूपान्तरण भएको यो मिलनलाई नेपाली राजनीतिमा ‘ऐतिहासिक मेलमिलाप’को रूपमा हेरिएको छ।
दुवै नेताले आफ्ना क्षेत्रीय आन्दोलन मधेस स्वराज अभियान र थरूहट आन्दोलन मार्फत राजनीतिक दबाब सिर्जना गरेका थिए। तर, समयक्रममा राउतले २०७५ सालमा सरकारसँग ११ बुँदे सम्झौता गरेर मुलधार अँगाले भने, चौधरीले टीकापुर घटनापछि जेलमै रहेर ‘नागरिक उन्मुक्ति’ पार्टी स्थापना गरेका थिए। अब यी दुई नेताका विचार र संगठन एउटै राजनीतिक छातामुनि समेटिन लागेका छन्।
बुधबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘नागरिक जनमत पार्टी’को औपचारिक घोषणा गरिनेछ। नयाँ पार्टीको अध्यक्षमा सिके राउत, सह–अध्यक्षमा रञ्जिता श्रेष्ठ रहनेछन् भने संरक्षकको भूमिकामा रेशम चौधरी रहनेछन्। वरीयतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो हुनेछन्।
सात सय सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट समान ३५०–३५० जना रहनेछन् भने पदाधिकारी ५० जना हुनेछन्। प्रतिनिधिसभामा एकीकृत पार्टीसँग १० सांसद रहनेछन्, जसले नयाँ शक्ति सन्तुलनमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ।
पार्टीको झन्डा ढकियासहितको हुनेछ र चुनाव चिन्ह पनि ‘ढकिया’ नै रहने सहमति भइसकेको छ। उनीहरूले अघि सारेको राजनीतिक दर्शनमा सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, विज्ञ मन्त्रीहरूको सहभागिता, र संवैधानिक अंगका प्रमुखहरू जननिर्वाचित हुनेजस्ता प्रस्तावहरू छन्।
यो एकता नेपाली राजनीतिमा केवल दलहरूको संख्या घटाउने प्रक्रियामात्र नभई, उग्र आन्दोलनकारीहरूलाई संस्थागत लोकतान्त्रिक मार्गमा ल्याउने उदाहरणीय परिवर्तनको संकेत पनि हो।