कांग्रेस सांसद खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त, तामाङको बर्खास्तीपछि देउवाको वाचा पूरा

काठमाडौं । म्याग्दीका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई नियुक्त गरेका हुन्।
संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गरिएको उक्त नियुक्तिले केही दिनअघि बर्खास्त भएका कांग्रेस नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’को स्थान पूर्ति गरेको छ। तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइप्रति खुलेर विरोध जनाएका थिए, जसलाई प्रधानमन्त्री ओलीले ‘सार्वजनिक असहमति’को रूपमा लिँदै तामाङलाई पदमुक्त गरेका थिए।
गर्बुजा कांग्रेस सभापति शेरबहादुर देउवाको निकट मानिन्छन्। केही समयअघि म्याग्दी पुगेका देउवाले ‘म्याग्दीले मन्त्री पाउनेछ’ भनेर दिएको आश्वासन आज कार्यान्वयनमा आएको देखिएको छ। गर्बुजा अहिले कांग्रेस म्याग्दीका सभापति समेत हुन्।
उनको नियुक्तिलाई कांग्रेसभित्रको आन्तरिक समिकरणसँग पनि जोडिएको विश्लेषण गरिएको छ। खासगरी देउवाले आफू निकट क्षेत्रीय नेताहरूलाई प्रतिनिधित्व दिलाउने रणनीतिअन्तर्गत गर्बुजाको नाम अघि सारिएको बताइएको छ।
नयाँ राज्यमन्त्री गर्बुजाले ऊर्जा तथा जलस्रोतजस्तो संवेदनशील मन्त्रालयमा आफ्नो भूमिकाले जनता र पार्टी दुवैको विश्वास जित्न सक्छन् कि भन्नेमा चासो बढेको छ।