मजदुर दिवसः संघर्ष, सान्दर्भिकता र नेपालमा यसको प्रभाव

मजदुर दिवसः संघर्ष, सान्दर्भिकता र नेपालमा यसको प्रभाव
  • १८ बैशाख २०८२, बिहीबार ०९:१७

काठमाडौं । हरेक वर्ष मे १ तारिखलाई अन्तर्राष्ट्रिय मजदुर दिवस रुपमा विश्वभर मनाइन्छ । मजदुर वर्गले आफ्नो हक–अधिकारका लागि लडेर हासिल गरेका उपलब्धिको सम्झना गर्ने र अझै बाँकी रहेका अधिकार सुनिश्चित गर्न प्रेरणा लिने अवसरको रुपमा यो दिवसलाई लिइन्छ । प्रजातन्त्र स्थापना, २०४६ सालको जनआन्दोलन र गणतन्त्र स्थापनामा नेपालका श्रमिक मजदुरहरुको महत्वपूर्ण भूमिका रहेको छ । २०४६ साल पछि मात्र ट्रेड युनियनले महत्व पायो तर श्रमिक हक अधिकारका लागि भने नेपालमा गणतन्त्र स्थापना पछि मात्र उनीहरुका मुद्दा, उनीहरुका चुनौति र सरकार र राजनीतिक दलहरुको भुमिकाका बारेमा बहस हुन थालेको छ ।


मे १ मनाउन थालिएको पृष्ठभूमि
अन्तर्राष्ट्रिय मजदुर दिवसको सुरुवात अमेरिका, शिकागोबाट भएको थियो । सन १८८६ मा अमेरिकाको शिकागोमा श्रमिकहरुले ८ घन्टा काम, ८ घन्टा विश्राम, ८ घन्टा मनोरञ्जनं भन्ने नाराका साथ व्यापक आन्दोलन थाले । त्यो आन्दोलनले श्रम क्षेत्रको इतिहास बदलिदियो । मे ४ तारिखमा भएको हेयरमार्केट घटना मा अज्ञात व्यक्तिले बम विस्फोट गराएपछि प्रहरीले दमन गर्यो, जसमा सातजना मजदुरको ज्यान गयो । ती घटनाले विश्वभरका मजदुर आन्दोलनलाई ऊर्जा दियो ।
सन १८८९ मा फ्रान्सको पेरिसमा भएको द्धितीय इन्टरनेसनल सम्मेलन ले मे १ तारिखलाई अन्तर्राष्ट्रिय मजदुर दिवस का रुपमा मनाउने निर्णय गर्यो । त्यसपछि सन १८९० देखि विश्वभर यो दिन मजदुरद्धारा बिभिन्न र्याली, सभा, र कार्यक्रम गरी मनाइँदै आएको छ ।


नेपालमा मजदुर आन्दोलनको इतिहास
नेपालमा श्रमिक आन्दोलनको इतिहास शाह वंशीय शासनकालभन्दा पहिले उल्लेखनीय छैन । तर राणा शासनको अन्त्यसँगै श्रमिक चेतनाले गति लिन थाल्यो । सन १९४७ मा वीरगञ्जमा स्थापना गरिएको नेपाल मजदुर संघ (हालको गणतान्त्रिक ट्रेड युनियन) नेपालकै पहिलो श्रमिक संगठन मानिन्छ । यसको नेतृत्वमा वीरगञ्जको जुट मिलका श्रमिकहरुले आन्दोलन गरे, जसले नेपालको श्रम आन्दोलनमा नयाँ युगको थालनी गर्यो।
पञ्चायत कालमा श्रमिक संगठनहरु प्रतिबन्धित थिए, तर भूमिगत रुपमा आन्दोलनहरु चलिरहे । २०४६ सालको जनआन्दोलनपछि श्रम अधिकारलाई संवैधानिक मान्यता दीइयो र ट्रेड युनियन खोल्न पाइने अधिकार सुनिश्चित गरियो ।
नेपालमा आधिकारिक रुपमा मे १ लाई मजदुर दिवस मनाउन थालिएको र महत्व दिइएको २०४६ साल पछि मात्र हो २०४६ सालको जनआन्दोलन पछि स्थापित प्रजातान्त्रिक सरकारबाट यस दिनलाई राष्ट्रिय महत्वको दिन मानेर सार्वजनिक बिदा दिन थालेको हो ।


मजदुर दिवस मनाउनको सान्दर्भिकता
कृषि, निर्माण सेवा, साना तथा मझौला उद्योग, घरेलु श्रमिक आदिमा ठुलो संख्यामा नेपाली श्रमिकहरु काम गर्न वाध्य छन यस्तो देशमा श्रमिक दिवसको विशेष महत्व समेत छः यसले श्रमको सम्मान, मजदुर अधिकारको वकालत, नीति निर्माणमा दबाब, संघियता सन्दर्भमा श्रमिक अधिकार जस्ता विशेष अधिकार सुरक्षित गर्न सरकारलाई दबाब सिर्जना गरिरहेको छ । मजदुरका पक्षमा भएको न्युनतम पारिश्रमिक, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षाको व्यवस्था, विमाको व्यवस्था जस्ता महत्वपूर्ण निर्णय यही दबाब र आन्दोलनले सुरक्षित गरेका विषयहरु हुन ।
नेपालमा श्रमिक आन्दोलन र राजनीतिक आन्दोलनबीच गहिरो सम्बन्ध छ । नेपालका सबै राजनीतिक आन्दोलनमा श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको इतिहासलाई दृष्टिगत गरि उनीहरुको हक अधिकार र सामाजिक सुरक्षाका विषयलाई अझ परिस्किृत गरिनु जरुरी छ ।
मे १ तारिख मजदुर वर्गको ऐतिहासिक उपलब्धिको दिन हो । यो दिवसले केवल विगत सम्झन मात्रै होइन, श्रमिक अधिकार सुनिश्चित गर्ने दायित्व पनि सम्झाउँछ । नेपालमा अझै श्रमिकहरुको ठूलो वर्ग न्यून पारिश्रमिक, सुरक्षा विहीनता, अपमानजनक व्यवहार र अन्यायको सामना गरिरहेका छन् । राजनीतिक दलहरुले केही उल्लेखनीय काम गरे पनि व्यावहारिक कार्यान्वयनको अभाव छ ।
अबको आवश्यकता केवल नारामुखी कार्यक्रम होइन, श्रमिक हितमा केन्द्रित ठोस नीति, कार्यान्वयन र निगरानी प्रणाली निर्माण गर्नु हो । त्यसबेलामा मात्र मे दिवस को वास्तविक अर्थ सार्थक हुनेछ ।