जंगबहादुरकी श्रीमती मेचिनगरकी निलसरी मेचे

नेपालको इतिहासमा ओझेलमा परेको एक स्मरणीय पात्र नीलसरी मेचेलाई सम्झन र सम्मान गर्न झापाको मेचिनगरमा नीलसरी महोत्सव आयोजना हुन लागेको छ । नीलसरी मेचे नेपालका शक्तिशाली राणा प्रधानमन्त्री जंगबहादुर राणा की पत्नी थीइन् भन्ने आधारहरु भेटिएका छन् । उनी हाल झापाको मेचिनगर क्षेत्रमै बसोबास गर्ने मेचे समुदायकी प्रतिनिधि थिइन । ऐतिहासिक तथ्य अनुसार, राणा प्रधानमन्त्रीले नीलसरीसँग विवाह गरेपछि मेचे समुदायको सामाजिक हैसियतमा केही हदसम्म परिवर्तन पनि आएको मानिन्छ ।
महोत्सवको आयोजकका रुपमा रहेको जोरसिमल मेचे समाजका सचिव सन्जय मेचेका अनुसार ‘नीलसरी महोत्सवको मूल उद्देश्य एक ऐतिहासिक पात्रको स्मरण र लोपोन्मुख जातिको संस्कृति, पहिचान, रितिरिवाज, खानपिन जस्ता ऐतिहासिक, सांस्कृतिक र सामाजिक योगदानलाई पुन उजागर गर्नु हो । साथै, मेचे भाषा, पहिरन, परम्परा, गीत–संगीत र खानपानजस्ता विविध पक्षलाई एकै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्तामा गर्व र आत्म–पहिचानको भावना जगाउने प्रयास पनि हो ।’
को हुन निलसरी
झापाको धुलाबारी सेरोफेरोमा बसोबास गर्ने काँधरसिंह मेचेका छोरा उजिरसिंह मेचेको दुई वटा सन्तान थिए । ति दुई सन्तान मध्येकी ठुली छोरीका रुपमा निलसरी मेचे थिइन भने उनको भाई जगलाल मेचे थिए । जगलालका छोरा जब्बरसिंह (निलसरीको भदा)का अनुसार निलसरीको जन्म सन १८३७ मा भएको थियो ।
उजिरसिंह मेचेका छोरा जगलाल मेचेको सन् १८३९ मा जन्म भएको थियो १०० बर्ष भन्दा बढी बाँचेका उनको १९३९ मा मृत्यु भयो ।
जगलाल मेचेको ७ जना श्रीमती थिए । जसमध्ये ४ जना श्रीमतीबाट कुनै पनि सन्तान नजिन्मएको ३ श्रीमती मध्ये थेब्सी मेचेबाट ३ जना छोरा र १ छोरी जन्मिएका थिए । कुँवरसिंह मेचे, जब्बरसिंह मेचे, लब्बरसिंह मेचे र १ छोरी सम्पत्ति मेचे थिए । छोरी सम्पत्ति मेचेको विवाह भारतमा गरिदिएका थिए ।
अरु दुई श्रीमतीबाट एक एक जना छोरा भएका थिए । अनधि मेचे चौधरी र अर्का खत्तमलाल मेचे चौधरी । उनीहरुको तेश्रो पुस्ता अहिले पनि मेचीनगरमा बसोबास गरिरहेका छन् ।
जंगबहादुरले कसरी भेटे निलसरी
१८५४ को जनवरीमा पूर्वको झापा जिल्लाको कन्काई नदी किनारको घना जंगलमा शिकार खेल्न प्रधानमन्त्री जंगबहादुरको टोली सवार भएको थियो । मेचे भाषामा खेङखाई बाङगोटिङ्गो नदी (कन्काई)ं नदी किनारामा १ महिना सम्म जंगबहादुर राणाका टोली शिकारका लागि बसेका थिए । १८५४ फेव्रुुअरी १६ मा जंगबहादुर काठमाडौं फिर्ती सवारी अगावै एकदिन मेची किनारमा घोडा सवार गर्दै घुम्न गएका थिए । सोही बखत हाल घैलाडुब्बा मन्दिर रहेको परिसरको पालिया खोलामा जंगबहादुरले निलसरीलाई देखेका थिए । मेची घुमघामसकेर फर्किने क्रममा उनै निलसरीलाई फेरी देखेको र निलसरीको रुपप्रति मोहित भई घोडामा चढाएर दरबार लगेको पुस्तान्तरण हुँदै आएका मेचेहरुले बताउने गरेका छन ।
मेचेहरुको पवित्र स्थलका रुपमा रहेको घैलाडुब्बामा मेचेहरुले मन्दिर बनाएका थिए । उनै मेचेहरुको परिवारलाई प्रधानमन्त्री जंगबहादुरले लगेको र राज्यसँगको सम्बन्धलाई जनाइराख्न त्यस ठाउँको नाम तत्कालिन राजा सुरेन्द्रको नाममा राखेकोले सुरेन्द्र नगर भनेर चिनिन्छ ।
जंगबहादुरले मनपराएर घोडामा हाली लगेका मेचे धुलाबारीकी निलसरी थिइन भन्ने प्रमाणीत दस्तावेजहरु पनि भेटिएका छन् ।
हिमाल खबरमा राजकुमार दिक्पालले लेखेको ‘मेचे कन्यासँग जंगबहादुर राणाको प्रेम’ लेखले पनि जंगबहादुरले मेचे कन्यासँग विवाह गरेका थिए भन्ने उल्लेख गरेका छन् ।
मानवशास्त्री हर्बट होप रिस्लेले पुर्वी झापा र पश्चिम बंगालको जातिगत व्यवस्थाको अध्ययन गरि ‘दी ट्राइब्स एण्ड कास्टस् अफ् बंगाल इथ्नोग्राफिक ग्लासरी’को दोश्रो भाग १८९१ मा प्रकाशित गरेका थिए । सो पुस्तकमा समेत जंगबहादुर राणाले धुलाबारीकै उजिरसिंहकी छोरी बिहे गरेको उल्लेख गरेका छन् । उनले स्थलगत अध्ययन अनुसन्धान गर्दा १८७१ देखि १८८१ सम्म को जनसंख्याहरु उल्लेख गरेका कारणबाट उनले १८८०/१८८१ तिर स्थलगत रिपोट गरेका हुन भन्ने अनुमान लगाउन सकिन्छ । यसरी स्थलगत अध्ययन गर्ने क्रममा मेचे समुदायकाले ‘२० बर्ष भन्दा अघि धुलाबारीकी मेचेको छोरी नेपालको प्रधानमन्त्री जंगबहादुरले विहे गरि लगेको’ भनी हर्बटले उल्लेख गरेका छन् । स्थलगत अध्ययनको अनुमानित समय भन्दा २० बर्ष अघिको समय र निलसरी मेचेको उल्लेखित उमेरसँग मेल खाने देखिएको कारण पनि जंगबहादुरले विहे गरेकी मेचेकी छोरी धुलाबारी हाल मेचिनगरकी निलसरी मेचे नै हुन भन्न सकिन्छ ।

निलसरी मेचेको पारिवारिक श्रोत अनुसार भनिएको १८५४ र हर्बटले तोकेको अनुमानित समय उस्तै (१८८१ को बीस बर्ष भन्दा अघि) देखिन आएको छ । त्यतिमात्र होइन जंगबहादुर राणाले मेचेले छोएको पानी चलाउने आदेश जारी भएको मिति समेत उस्तै उस्तै रहन गएको छ ।
नीलसरी मेचे र जंगबहादुर राणाबीचको विवाह केवल व्यक्तिगत सम्बन्ध मात्र नभएर सामाजिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । जंगबहादुरले निलसरीलाई विवाह गरेर लगेपछि मेचेहरुको जात उच्च हुन पुगेको र मेचेहरुले छोएको पानी अरुले पनि खाने चलन चलाएको हर्बट होप रिस्लेले बताएको छन् । मेचे र धिमालहरुले छोएको पानी अरुले नखाने चलन रहेको र जंगबहादुरले मेचे कन्यासँग विवाह गरेपछि मात्र पानी चलाएको भन्ने कुरालाई महेश चन्द्र रेग्मीको रेग्मी रिसर्च सेरिज बर्ष ५ मा मेचेहरुको छुवाछुतमुक्तिको बारे तथ्य प्रमाणित गर्ने पत्रले समेत पुष्टि गरेको छ ।

प्रत्रमा लेखिए अनुसार १८६० मा मोरङ जाँदा उजिर मेचे र अन्य मेचे समुदायकाहरुले ‘हामी मुसलमानले छोएको पानी प्रयोग गर्दैनौ हामी सँुगुर, कुखुरा, माछा र भैसी मात्र खान्छौ, हामी हिन्दु हौ, हामीले छोएको पानी पवित्र मानिनु पर्छ’ भनी निवेदन गरेको र सोही निवेदनको आधारमा ‘मुसलमानको हातको पानी नखाने देखिएको र केवल सुँगुर, कुखुरा र भैसीको मासु मात्र खाने आधारमा उनीहरुले छोएको पानी अपवित्र मान्न मिल्दैन त्यसैले उनीहरुले छोएको पानी चलाउनु’ भन्ने आदेश भएको देखिएको छ । त्यसपछि सन १८६१ मा ज्यामिरगढी, दुहागढी लगायतका मेचे समुदायका चौधरी उजिर र अन्य धिमाल समेत मेची नदीमा भेला भई पानी चलेको घोषणा गरेको र त्यसलाई गोर्खा अधिराज्यको कानुन हुने गरि सन १८६२ मा निर्णय गरि खञ्जान्ची शिव प्रसाद अर्याललाई पत्राचार गरेको रेग्मी रिसर्च सेरिजमा भएको पत्रले समेत पुष्टि गरेको छ ।
यी प्रमाणीत दस्तावेजमा उल्लेखित समय, सोधकर्ता हर्बटले उल्लेख गरेको समय र नीलसरीको जन्म उमेर समेतको मेल खाने देखिएकोले जंगबहादुर राणाकी पत्नि निलसरी थिइन भन्ने आधारहरु प्रमाणीत भएका छन् ।
जंगबहादुर राणाले विवाह गरेकी भनिएकी निलसरीलाई रानी विर्ता भनेर ७०० विगाहा जग्गा छुट्याइएको मेचे समुदायका सचिव सन्जय मेचेको भनाइ छ । अहिले टोक्ला चिया बगान रहेको जग्गा समेत रानी विर्तामा भएको र सरकारको नाममा गएको देखिएको छ । उक्त ठाउँको जग्गा रानी बिर्ता स्वरुप लाल मोहोर जारी गरि दिएको प्रमाणीत कागजातहरुले प्रमाणति गरेका छन । पछि जग्गा भोग चलनका लागि वंश नाता कुटुम्बभित्र नयाँ लालमोहर जारी गरियो । सोही समय प्राप्त गरेका अंश वंशमा भागबण्डा लिँदा, दिँदा जगलाल मेचेका सन्तानसँग केही जग्गाहरु मात्र रहेको पाइन्छ । निलसरी मेचे परिवारलाई जंगबहादुरले चौधरी पदवी उपमा समेत दिएका कारण उजिर मेचेका सन्तान पछि चौधरी मेचे रहन गएको भनाइ छ । जगलाल मेचेका छोरा जब्बरसिंह चौधरी मेचेको वि.सं. २०७३ सालमा मृत्यु भएको थियो । ८६ बर्षको उमेरमा मेचीनगरमा उनको मृत्यु भयो ।

त्यसरी रानी विर्ता वापत जग्गा पाएको कारण पनि उनी जंगबहादुरकी रानी थिइन भन्ने कुराको पुष्टि गरेको छ । तर निलसरीबाट सन्तान भए भएनन उनको दरबारमा के हैसियत थियो भन्ने खोजिको विषय रहेको छ ।
जंगबहादुरकी ४२ वटी श्रीमती मध्ये आमाबाबुको थर ठेगाना नभएकी भनेर ५ जनाको नाम उल्लेख गरिएको छ । पुरुषोत्तम शम्शेर जबराको पुस्तक श्री ३ हरुको तथ्यवृत्तान्तमा पनि जंगबहादुरकी ४२ जना रानी रहेकोमा केहीको नाम ठेगाना नखुलेको बताएका छन् । जसमध्ये राम्री महारानी, भागी रानी, सत्यभामा रानी, रानी शुभकुमारी देवी, जवाँ रानी थिए । उनीहरु कहाँ कसकी छोरी हुन र कहिले मृत्य भयो भन्ने समेत नभेटिएको बताइन्छ । यी मध्ये मेचीनगरकी निलसरी थिइनकी थिइनन ? उनका सन्तान भए कि भएनन ? मेचिनगरका लागि पनि खोज अध्ययनको विषय बनेको छ ।
इतिहासको गर्भमा रहेको विषय र मेचीनगरको गहना नीलसरी मेचेलाई इतिहासमा पुनःस्थापित गर्न ूनीलसरी महोत्सवू एक महत्वपूर्ण प्रयास हो, जसले लोपोन्मुख जातीय पहिचान, संस्कृति, र समुदायको गौरवलाई पुनः उजागर गर्न मद्दत पुर्याउनेछ।
