Close

Recent Posts

जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त
  • २८ आश्विन २०८२, मंगलवार १५:४६

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा दिन धम्की दिइरहेका थिए, अर्जुन शाही ठकुरी । पछिल्ला दिनमा जेन–जी आन्दोलनका अभियन्ताको नाममा सक्रिय शाही विवादास्पद पृष्ठभूमिका व्यक्ति रहेको रहस्य खुलेको छ । उच्च सरकारी अधिकारीलाई आर्थिक अनियमितताको आरोप लगाउँदै अभियान चलाएका शाहीआफैँ ठगी मुद्दामा परेको भेटिएको हो ।

mulpatra

एउटा समूहसहित अधिकारीको कार्यालयमा पुगेका ठकुरीसँग भिडियो खिच्ने टिम पनि थियो । र, उनले आफ्नो कर्मको भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए । प्राधिकरणमा आर्थिक अनियमितता भएको उड्डयन क्षेत्रको बेथिति रोक्न नसकेको आरोप लगाउँदै महानिर्देशक अधिकारीलाई बरु राजीनामा दिएर जान भनेका थिए ।

यो भिडियो मात्र होइन, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सन्दर्भमा उनले त्यही कर्म गरेका छन् । आक्रामक रूपमा प्रस्तुत भएर उच्च अधिकारीमाथि जाइलाग्न खोजिरहेका शाहीको हर्कत यसमा मात्र सीमित छैन ।

शाहीविरुद्ध नेपाल प्रहरीमा बैंकिङ कसुरको मुद्दामा दुईवटा उजुरी परेको भेटिएको छ । उनीविरुद्ध ३० वैशाख २०८२ मा प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको थियो । बैंकिङ कसुरसम्बन्धी उजुरीपछि उनी फरार थिए । प्रहरीको सम्पर्कबाहिर रहेका शाही यतिबेला जेन–जी अगुवाको नाममा देखिएका हुन् ।

जेन–जी आन्दोलनपछि सुशासनको अभियन्ता बनेर शाहीले अख्तियार दुरुपपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणजस्ता निकायमा पुगेर उच्च अधिकारीलाई धम्क्याउने गरेका छन् । कतिसम्म भने आफू नै कानुन कार्यान्वयनकर्ताको रूपमा प्रस्तुत हुने गरेका थिए ।

खासमा उनविरुद्ध कृष्ण फुँयालले बैंकिङ कसुर र वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएका थिए । त्यही कसुरका कारण उनी पक्राउ पनि परेका थिए । प्रहरी अधिकारीहरूका अनुसार जेन–जी आन्दोलनभन्दा केही समयअघि मात्रै उनी छुटेका थिए ।

प्रहरी अधिकारीहरूका अनुसार ३० वैशाखमै प्रहरी वृत्त महाराजगञ्जले अर्जुनबहादुर शाहीलगायतलाई उपस्थित गराउन वैदेशिक रोजगार विभागलाई पत्र काटेको थियो । उक्त पत्रमा प्रहरीले विभागलाई वृत्तमा उपस्थित गराउन पनि आग्रह गरेको थियो ।

प्रहरीले वैदेशिक रोजगार विभागलाई लेखेको पत्रमा भनिएको छ, ’उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुर पत्रद्वारा तालुक कार्यालयमा वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि दाखिला गरेको हुँदा प्रतिवादी अर्जुनबहादुर शाही तालुक कार्यालयमा दर्ता भएको मुद्दाको अनुसन्धानपश्चात् छुट्टी जाने भएमा यस कार्यालयमा श्रीकृष्ण फुयाँलले दर्ता गराएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि अर्जुनबहादुर शाहीलाई यस कार्यालयमा दाखिला गरी दिने व्यवस्था गरी दिन हुन सादर अनुरोध गरिएको छ ।’

यही अभियोगपछि २८ वैशाखमा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले पक्राउ गरेको थियो । जेन–जी आन्दोलनभन्दा केही समयअघि मात्रै हिरासतबाट निस्केका शाही अहिले सुशासनको अभियन्ताको रूपमा देखिएको छ ।

जापान पठाउने भन्दै ठगी गरेको आरोप शाहीमाथि छ । सुवास तामाङ नाम गरेका व्यक्तिले वैदेशिक ठगीको कसुरमा उनीविरुद्ध उजुरी दिएका थिए ।

फुयालभन्दा अघि प्रहरी वृत्त महाराजगञ्जमै रोजिना थापा नाम गरेकी महिलाले शाहीविरुद्ध चेक बाउन्स (बैंकिङ कसुर)को जाहेरी दिएकी थिइन् । शाहीले आफ्नो सिटिजन्स बैंकको चेकमा १० लाख ३० हजार रुपैयाँ उल्लेख गरी दिएको तर रकम नभएकाले चेक नसाटिएको भन्दै वृत्त महाराजगञ्जमा २७ वैशाख २०८१ मा उजुरी दर्ता भएको थियो ।