काग्रेस नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह की दिदी सहित १७ जनामाथि ठगी मुद्दा

काग्रेस नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह की दिदी सहित १७ जनामाथि ठगी मुद्दा
  • २४ बैशाख २०८२, बुधबार २०:३४

काठमाडौं, नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा विवादास्पद रूपमा निजी विद्यालयलाई लिजमा दिइएको प्रकरणमा अन्ततः १७ जनाविरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दर्ता गरेको हो। सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले मुद्दा नचलाउने अघिल्लो सिफारिसलाई उल्टाउँदै अनुसन्धानपछि ठगी पुष्टि भएकाले मुद्दा दायर गरिएको जानकारी दिए।

उक्त प्रकरणमा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी तथा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीमाथि मुद्दा चलाइएको हो।

स्रोतहरूका अनुसार रीता सिंह वैद्यको बयान समेत नलिइएको पाइएको छ, तर अनुसन्धान अधिकृतहरू उनलाई मुख्य अभियुक्तका रूपमा हेर्छन्। साथै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ अनुसार ठगी अभियोग लगाइएको छ। अपराध प्रमाणित भएमा ७ वर्षसम्मको कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले यसअघि माघमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। तर जिल्ला तथा उच्च सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेपछि आलोचना चुलिएको थियो। अन्ततः महान्यायाधिवक्ताको कार्यालयको हस्तक्षेपपछि मात्र मुद्दा अघि बढेको हो।

२०२१ सालमा स्थापना भएको बाल मन्दिरले २०५९ सालमा बृहत् बृहस्पति विद्या सदनलाई २८ रोपनी ५ आना जग्गा ३० वर्षका लागि लिजमा दिएको थियो। तर म्याद सकिन १७ वर्ष बाँकी रहँदै २०७२ सालमा नै पुनः ४३ वर्ष थप गरेर २१३१ सालसम्मका लागि लिज बढाइएको थियो। प्रतिस्पर्धाविना, कम मूल्यमा, मिलेमतोमा लिज सम्झौता भएको आरोप लागेपछि यो प्रकरण सार्वजनिक भएको हो।