माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरियो
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् ।

उनको मुटुमा समस्या आएको छ । त्यहाँ सिसियुमा भर्ना भएका छन् । उपचार जारी छ । नेकपा एसका नेता लक्ष्मण केसीका अनुसार नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा उनी बिहीबार आफैँ अस्पताल गएका थिए । प्रत्येक महिनामा एक पटक नेपाल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुग्ने गरेका छन् ।
केसीका अनुसार, बिहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोग्राफी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ ।
![]() |
![]() |
![]() |
|---|
अस्पतालका प्रशासन प्रमुख डा. रत्नमणि गजुरेलले अति सामान्य उपचारका निम्ति नेपाल अस्पतालमा आएको बताए । ‘नर्मल केस हो, आजको राउण्डपछि सम्बन्धित डाक्टरसा’पले अरू कुरा भन्नुहुन्छ’, उनले भने ।
डाक्टरहरूका अनुसार मुटु वरिपरिका नशा र धमनीमा थोरै थोरै गरेर बोसोको मात्रा बढेपछि मानिसलाई हृदयाघात हुने हो । सबैले माधव नेपालले झैँ नियमित स्वास्थ्य परीक्षण गर्ने र बोसो जमेको छ भने एन्जियोग्राफी गर्दा हृदयघातको खतरा घट्छ ।
नेकपा एसका नेता केसीका अनुसार एन्जियोग्राफी गरेपछि शरीरलाई केही दिन आराम दिनुपर्ने कारण डाक्टरहरूले अस्पतालमै बस्न भनेका कारण शुक्रवार पनि उनी त्यहीँ रहने छन् । ‘उहाँ बाहिर आएपछि फेरि धपेडी हुन्छ, त्यसैले आरामका लागि पनि अस्पताल बस्नुपर्छ भनेर परिवारका सदस्यहरूले पनि सल्लाह दिनुभएको छ’, केसीले बताए
Image Source: © https://mulpatra.com



