गभर्नरमा फेरि आयो विश्व पौडेलको नाम, सिफारिस समिति नै फेर्ने तयारी

काठमाडौं– लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा सरकारको सर्वत्र आलोचना हुँदै आएको छ । राष्ट्र बैंक गभर्नर विहीन बनेको एक महिना पूरा भइसकेको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले गभर्नरमा डा.गुणाकर भट्टलाई सारेपनि उनको राजीनामा कायममुकायम गभर्नर डा.निलम ढुंगानाले स्वीकृत गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नभएपछि पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले अगाडि सारेको छ ।
शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको थियो ।
पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको छ । शनिबार साँझ यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने देखिएको बताएका थिए ।
अब गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखिने बताइएको छ । पछिल्लो पटक समितिका सदस्य बनेका महाप्रसाद अधिकारीविरुद्ध भने योग्यताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको छ । यसअघि ज्ञानेन्द्र ढुंगानालाई गभर्नरमा सिफारिस गर्ने चर्चा आएको थियो ।