युरोपमा गर्मीको लहरले मंगलबार मात्र ९ करोड बढी प्रभावित

युरोपमा गर्मीको लहरले मंगलबार मात्र ९ करोड बढी प्रभावित
  • १७ असार २०८३, बुधबार १०:४०

एजेन्सी । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुआतमै देखिएको अभूतपूर्व गर्मीको लहरले जनजीवन अस्तव्यस्त बनाएको छ। मौसमविद्हरूका अनुसार स्पेन, इटाली, फ्रान्स, पोर्चुगल, ग्रीस, हङ्गेरी, रोमानिया, सर्बिया, क्रोएसिया, स्लोभाकिया, मोल्डोभा र युक्रेनलगायतका देशमा तापक्रम ३५ देखि ४५ डिग्री सेल्सियससम्म पुगेको छ।

mulpatra

विश्लेषणअनुसार मंगलबार मात्रै करिब नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अनुमान गरिएको छ भने युरोपका करिब ४० प्रतिशत जनसङ्ख्या ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रमबाट प्रभावित भएका छन्। वैज्ञानिकहरूले यस्तो चरम गर्मी मानव–सिर्जित जलवायु परिवर्तनका कारण अझ तीव्र र बारम्बार हुन थालेको बताएका छन्।

यो गर्मीको लहरले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पारेको छ। विशेष गरी वृद्धवृद्धा, दीर्घरोगी, बालबालिका तथा बाहिर काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा परेका छन्। विभिन्न देशमा गर्मीका कारण सयौँ मानिसको मृत्यु भएको पुष्टि भएको छ भने प्रारम्भिक सार्वजनिक स्वास्थ्य विश्लेषणहरूले यस पटकको लहरसँग सम्बन्धित अतिरिक्त मृत्युको सङ्ख्या हजारौँ पुग्न सक्ने चेतावनी दिएका छन्।

mulpatra mulpatra mulpatra

अत्यधिक तापक्रमका कारण विद्यालयहरू बन्द गरिएका छन्, निर्माण तथा कृषि क्षेत्रमा दिउँसोको काम रोकिएको छ, अस्पतालहरूमा तापघात, निर्जलीकरण र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप बढेको छ। धेरै स्थानीय सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घरभित्र बस्न, प्रशस्त पानी पिउन र दिउँसोको समयमा बाहिरी गतिविधि नगर्न आग्रह गरेका छन्।

चरम गर्मीले भौतिक पूर्वाधारमा पनि उल्लेखनीय क्षति पुर्‍याएको छ। फ्रान्स, इटाली र स्पेनका केही क्षेत्रमा सडकको कालोपत्रे पग्लिन थालेको, रेलमार्गका लिकहरू तातिएर बाङ्गिने जोखिम बढेको तथा रेल सेवामा ढिलाइ र रद्द हुने समस्या देखिएको छ। अत्यधिक तापका कारण विद्युत् माग बढेपछि केही स्थानमा विद्युत् आपूर्तिमा दबाब परेको छ।

सवारीसाधनको इन्जिन अत्यधिक तातिने, टायर फुट्ने र वन डढेलोका कारण सडक अवरुद्ध हुने घटना बढेका छन्। घरहरूमा वातानुकूलन प्रणालीको प्रयोग अत्यधिक बढ्दा ऊर्जा प्रणालीमा थप दबाब परेको छ भने केही क्षेत्रमा जंगलमा लागेको डढेलोले सयौँ घर खाली गराउनुपरेको छ।

Image Source: © https://mulpatra.com

जलवायु वैज्ञानिकहरूले यस्तो गर्मी अब अपवाद नभई नयाँ वास्तविकताका रूपमा देखा पर्न थालेको चेतावनी दिएका छन्। ‘वल्र्ड वेदर अट्रिब्युसन’ समूहका अनुसार वर्तमान जलवायु परिवर्तन नभएको भए जुन महिनामै यति तीव्र गर्मीको लहर देखिनु लगभग असम्भव हुने थियो।

विज्ञहरूले हरितगृह ग्यास उत्सर्जन घटाउने, सहरी क्षेत्रमा हरियाली विस्तार गर्ने, ताप सहन सक्ने पूर्वाधार निर्माण गर्ने तथा स्वास्थ्य सतर्कता प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार जलवायु परिवर्तनको प्रभाव नियन्त्रण गर्न नसकिए आगामी वर्षहरूमा यस्ता गर्मीका लहर अझ घातक बन्दै जाने र जनधनको क्षति समेत बढ्ने सम्भावना छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com