को हुन मेचे ?


नेपाल सरकारले सुचिकृत गरेको ५९ आदिवासी जनजातिहरु मध्ये पनि संकटापन्न १० जातिमा पर्ने एक जाती मेचे हो । बर्षौ देखि आफ्नो मौलिक पहिचान, संस्कृति, भाषा परम्परालाई जोगाउन संघर्ष गरिरहेको प्रकृति पुजक मेचे नेपालको झापा जिल्लाका विभिन्न भाग, मोरङ जिल्ला र भारतको पश्चिम बंगालसम्म छरिएर रहेका छन् । नेपालका मेचे जातिहरुको संख्या घट्दै गइरहेकोले सरकारले यो समुदायलाई लोपोन्मुख र संकटग्रस्त जातिको रुपमा सुचिकृत गरेको छ । नेपाल सरकारको २०५८ सालको जनगणनामा अनुसार मेचे भाषिक संख्या ५१९३ थियो भने २०६८ मा ४८६७ र २०७८ सालमा आइपुग्दा ४२०३ मात्र रहेको देखाएको छ । सन २०११ को जनगणना अनुसार, भारतमा मेच जातिको कुल जनसंख्या करिब ५११२५ जना थियो, जसमा अधिकांश पश्चिम बङ्गाल ४१२४२ र असममा ९८८३ बसोबास गर्छन । जबकी सन १८८१ मा एच एच रिस्लेले आफ्नो पुस्तक ‘द ट्राइव एण्ड अफ बंगाल’ मा पश्चिम बंगालको पाँच स्थानमा मात्र मेचेको जनसंख्या १६९१४ रहेको उल्लेख गरेका जन जसमा दार्जिलिङमा १०६३ र जलपाइगुरीमा ८७६० जना रहेको बताइएको छ ।
नेपालका मेचे र भारतको असम तथा पश्चिम बंगालका मेचेहरू एउटै मूलका हुन । मेचेलाई पश्चिम बंगाल र पश्चिमी असममा मेच भनिन्छ र असमको कछारीहरु पनि पहिले मेचहरु नै भएको एच.के. रिस्लेले उल्लेख गरेका छन् । मेचको नेपालीकरण नै मेचे हो । घनश्याम खनालले मेचे जातिको अध्ययन गर्ने क्रममा नेपाली व्याकरणमा ‘ए’ प्रत्यय जोडी शब्द बनाउने प्रक्रियाअनुसार मेच+ए=“मेचे” बनेको हो भन्ने कुरा उल्लेख गरेका छन् ।
मेचे जाति भारतको उत्तरपूर्र्वी क्षेत्रमा पाइने बोडो/कचारी समूहको शाखा हुन । नेपालका मेचे र असमका बोडोहरुले बोल्ने भाषा समानताले पनि एउटै समुह हुन भन्ने पुष्टि गर्छ । बोडो/कचारी समूह असम, अरुणाचल, नगाल्याण्ड, र बंगालको आदिम जाति समूह हो, जसका अन्य उपशाखाहरूमा बोडो, डिमासा, कोच, राभा, गारो, हाजोंग, चुटिया आदि पर्छन ।
नेपालमा किरातमा गणना भएका खम्बू (राई), लिम्बू, सुनुवार, जिरेल, थामी, धिमाल, मेचे, कोचे, लेप्चा आदि छन् । शुक्ल यजुः र अथर्व वेदमा उल्लेख भए अनुसार सिन्धु सभ्यताकाल (२५००–१७०० ईपू अनुमानीत) मा सिन्धुभूमिको उत्तरस्थित हिमालय पर्वतमालाको दक्षिणी पाखो र त्यसको फेदी मैदानमा रहेका जातिलाई किरात भन्ने गरेको पाइन्छ त्यहि किराँत बर्गमा मेचे पनि पर्ने हुनाले सिन्धु सभ्यताकाल अघि मेचे जाति थिए भन्न सकिन्छ ।
सि.सि. सन्यालले १९७३ अघि नै मेच एक समूह तिब्बतबाट आइ विभिन्न उपसमूहमा विभाजित भएका थिए र एक समूह भारतको असममा बसोबास गर्यो जुन बोडो नामले चिनिन्छ, अर्को समूह अहिलेको बांगलादेशमा बसोबास गर्यो जसलाई कछारी भनिन्छ र तेस्रो समूह पश्चिम बंगाल र नेपालको पूर्वी भागमा आइ बसोबास गर्यो जुन मेचे भनेर चिनिन्छ भनेर भनेका छन् ।
एफ.बी. ह्यामिल्टनले “एन एकाउन्ट अफ दि किङ्गडम अफ नेपाल” पुस्तकमा नेपालको पूर्वी भागमा मेचे समुदायको बसोबास थियो भनेर किटान गरेका छन् । ए. क्याम्पवेलका अनुसार सन् १८३९ अघि नै “आसामको ब्रम्हपुत्र नदीदेखि नेपालको कनकाई नदीसम्म मेचे जातिको बसोबास फैलिएको थियो” । बी. एच. हड्सनले सन् १८४६ मा आसामको गोवालापाडा जिल्लादेखि नेपालको अलिगञ्ज जो मोरङ्गमा पर्दथ्यो त्यहाँ सम्मको मेचेहरुको अध्ययन गरेको उनको पुस्तकमा उल्लेख छ । त्यतिखेर झापा जिल्ला नै थिएन । पछि मोरङको गोश्वारा अहिलेको कुमुदखोरमा सारेको र राजवंशीहरुको बसोबास भएको स्थान झापा बजार राखिएको र पछि सोही स्थानको नामबाट झापा जिल्ला कायम हुन गएको हो ।
नेपालमा मेचे जातिसँग सम्बिन्धित भेटिएको प्रमाण अनुसार विक्रम सम्वत १९१७ पौषमा तत्कालिन सरकारको ‘भारदारी कौशल हुँदा’ भनी पुर्व मोरङका (हालको झापा पनि मोरङनै पथ्र्यो) ‘मेच्या’ (मेचे) जातिले छोएको पानी आर्यहरु नखाने देखिएकोले तत्काल पानी चल्ने व्यवस्था गर्नु र कसैले त्यसो नगरेमा रु. ५ जरिमाना गर्नु भनी पत्राचार भएको पाइएकोले १६४ बर्ष अघि नै मेचेहरु झापा मोरङमा थिए भन्ने आधिकारिक प्रमाण पाइन्छ ।
कहाँबाट आए
भोट बर्मेली समूहमा पर्ने मेचेहरु कहाँबाट आए भन्ने सन्दर्भमा विभिन्न मतहरु रहेका छन् । तिब्बतसँग पश्चिम बंगाललाई जोड्ने ऐतिहासिक मार्गमा भुटान हुँदै मणास नदी उपत्यका, कारीयापारा डुवार र पारो उपत्यका थियो । त्यसैगरि भैरब कुण्ड र अरुणाचल प्रदेशको तवांगमार्ग दोस्रो शताब्दीमा चलनचल्तीमा थियो भन्ने भारतीय अन्वेषकहरुले उल्लेख गरे अनुसार भोट बर्मेली परिवारमा पर्ने मेचे जातिहरुका पुर्वज सोही बाटो प्रयोग गरि भारत प्रवेश गरेको र विस्तारै नेपाल सम्म फैलिएको हुन भनेर भन्न सकिन्छ ।
मेच र मेचे जाति त्यही समूहबाट अलग भएका भू–राजनीतिक, भाषिक र सांस्कृतिक विभाजनपछि आजका नेपाल र बंगाल क्षेत्रमा फैलिएको मानिन्छ । मेचे र असमको बोडोको भाषा रहनसहन र संस्कृतिले एकै परिवारका हुन भन्ने कुराको प्रमाणित गरेको छ । इ.पु. ५००० बर्ष अघि नै बोडो जातिका पूर्वजहरू तिब्बती भूपरिधिमा पर्ने ‘बोद’ नामक क्षेत्रबाट दक्षिणतिर आएर बसोबास गर्न थालेका थिए । ग्रियर्सनका अनुसार तिब्बतीहरूले आफ्नो देशलाई बोद्युत, आफ्नो भाषालाई बोद्स्काट, र तिब्बती व्यक्तिलाई बोदोपा भन्थे । बोडो जाति र तिब्बतको खाम जाति बीचको शारीरिक बनावटमा समानता रहेकोबाट बोडो हरु तिब्बतबाट झरेका र त्यही बोद, बोद्युत, बोदोपा बाट बोडो वा बोरो भएको विभिन्न विद्धानहरुको मत छ ।
कसरी भए मेचे
मेचे शब्द संस्कृतको “म्लेच्छा” शब्दबाट अपभ्रम्स भई बनेको तर्क विद्धानहरूको छ । तत्कालिन रुपमा म्लेच्छ भन्नाले आर्य कुल बाहिरका, क्रुर, वेद नजानेको वा विदेशी भनेर जनाइने गरेको पाइन्छ । यहि म्लेच्छाबाट अपभ्रंश हुदै क्रमशः मेच्छ र मेच भएको कुरामा जोड दिएका छन् ।
ऐतिहासिक कालमा म्लेच्छ बंश रहनु तिनीहरुले लामो समय शासन गर्नुले पनि म्लेच्छबाट नै मेच शब्द भएको र मेचको नेपाली रुप मेचे भएको हो भनी मान्न सकिन्छ । डी.एन मजुमदारले ’रेस एण्ड कल्चर अफ इन्डिया’ मा म्लेच्छबाट नै मेचे भएको हुनसक्सने बताएका छन् । बि.के. बराउले अर्ली हिस्टोरी अफ कामपुरामा म्लेच्छ राजवंशहरुको उल्लेख गरेका छन् ।
मेचहरू मङ्गोल जातिका मानिसहरू हुन जसको उत्पत्ति र नेपालमा आउने र बसोबास गर्ने दृष्टिकोण महाभारत कालसँग जोडिन्छ । मेचे शब्दको उल्लेख प्राचीन हिन्दू धर्मग्रन्थहरूमा जस्तै रामायण, महाभारत, र अन्य पुराणमा गरिएको छ । यस शब्दलाई सामान्यतया म्लेच्छ (बाह्य) जातिहरूको रूपमा प्रयोग गरिएको थियो, जसका संस्कृतिहरू भारतीय सभ्यताको मुख्यधारा भन्दा पृथक थिए ।
पश्चिम बंगाल, नेपाल क्षेत्रको जहाँ अहिले मेचे वा मेच बस्ने क्षेत्रको कुनै राज्यमा राजा वनासुर मेच शासन गर्दै थिए र कृष्णद्वारा पराजित भएका थिए । त्यसपछि कृष्णले गोपाल वंशको स्थापना गरे । गोपाल वंश नेपालका इतिहासमा सबैभन्दा पुरानो वंश हो । यो दृष्टिकोणले मेच जनसमूहलाई नेपालका पहिलो बसोबासीको रूपमा प्रस्तुत गरेको छ । बनासुर मेच जातिका राजा थिए र कृष्णसँग पराजित भए भन्ने धारणा पौराणिक कथा र स्थानीय जनविश्वासको संयोजन हो । गोपाल वंशको स्थापना र कृष्णको सम्बन्धलाई यस कथाले आदिवासी र म्लेच्छ समुदायहरूको ऐतिहासिक उपस्थिति, महाभारत कालको मिथक, र नेपालको प्रारम्भिक शासकीय इतिहासलाई एकै थलोमा प्रस्तुत गर्ने प्रयास गर्छ ।
६/७ औं शताब्दीमा हेनसाङ लगायतका चिनियाँ यात्रुहरुले ‘ग्रेट टांग रेकर्ड अन द वेष्र्टन रिजन’ मा म्लेच्छा जाति र तिनका राजा रहेको उल्लेख गरेका थिए ।
मिन्हाज उस सिराजद्धारा लिखित “Tabaqat-i Nasiri” मा बख्तियार खिल्जीले मेचेहरुको सहयोगमा १२ औं शताब्दीमा तिब्बत (भोट) आक्रमण गरेको उल्लेख भएको छ तत्कालिन रुपमा मेचहरुले तिब्बत छिर्ने पहाडीबाटो देखाउने काम गरेको र तिनै मध्येको प्रमुख मेचलाई धार्मिक परिवर्तन गराएर इश्लामिक बनाएको र उनको नाम अलि मेच राखिएको विवरण दिएबाट १२ औं शताब्दीमा पनि मेच जाति थिए भनेर भन्न सकिन्छ । उक्त ग्रन्थमा मेच जातिलाई कामरूप क्षेत्रका सीमावर्र्ती जातिका रूपमा उल्लेख गरेका । कामरुपमा खासगरी बोडा–कचहरी थिए तर मेचेहरु त्यसको सिमामा बसेको हुन भन्ने कुराको प्रमाण उक्त ग्रन्थले दिएको छ ।
मेचेका पुर्वज म्लेच्छहरुले विभिन्न राज्यमा शासन सत्ता चलाएको प्रमाणहरु समेत पाउन सकिन्छ । उनै म्लेच्छ वंश कामरुप राज्य क्षेत्र (हालको पश्चिमी आसम, उत्तर बंगाल, पश्चिम बंगाल, भागलपुर) मा ७ औ शताब्दी देखि ९ औं शताब्दीसम्म शासन गरेका थिए । म्लेच्छ वंशमा सालस्तम्भ संस्थापक राजा थिए । अहिलेको कामाख्या मन्दिर निर्माण देखि विभिन्न मठ मन्दिर बनाउने काम पनि यो वंशले गरेको थियो । आर.सि. मजुमदारले ‘एनसेन्ट इन्डिया, बंगालको इतिहास’ र पि.सी. चौधरीले द हिष्ट्री अफ सिभिलाइजेसन अफ आसाम मा समेत म्लेच्छ बंशको उल्लेख गरेका छन ।
म्लेच्छ वंशले कामरुप राज्यको विस्तार गरि पश्चिम वंगाल र बिहारसम्म फैलाएको थियो । कामरुप राज्यबाट अलग भएपछि त्यहि म्लेच्छहरु मेच र नेपालका मेचे बनेका हुन भनेर भन्न सकिन्छ ।
यसरी हेर्दा, मेच र कोच आदि जातिहरूको प्राचीन राज्य सत्तामा सम्भावित उपस्थितिको ऐतिहासिक आधार पनि म्लेच्छ वंशले दिन्छ । सोही आधारमा पनि मेच जाति खासगरी ताम्र युग र मध्यकालमा नेपाल र भारतको सीमाना नजिकका क्षेत्रहरूमा बसोबास गर्दै आएका थिए भन्न सकिन्छ ।
सन १९५१ का एस. के. चटर्र्जी, १८८० का होड्सन, १९०५ का सर एडवर्ड गेट, १९२२ का एन. एन. वासु लगायतका ख्यातिप्राप्त विद्वानहरूले कोच र राजवंशहरु पनि मेचेहरु नै हुन जसले आफ्नो आदिम बोडो भाषा संस्कृति त्यागेर सस्कृतिकुत हिन्दु धर्म र परम्परा अपनाएका हुन ।
यो रूपान्तरण खासगरी १५०९–१५४० को बीचमा राजा बिस्वसिंह ‘बिसु मेचे’ को पालामा भएको थियो, जो हिन्दू संस्कार र परम्पराका प्रवद्र्धक राजा थिए । ती व्यक्तिहरू जसले राजा बिसु मेचेसँगै ब्राह्मण धर्म (ब्राह्मणवाद) स्वीकार गरे, उनीहरू राजबंशी भनेर चिनिए ।
पश्चिम बंगालमा मौर्य र गुप्त साम्राज्य र विशेष गरी बंगालको डेल्टा क्षेत्र र सोनारपुर जस्ता ठाउँहरूमा पुरातात्विक उत्खननहरूबाट १०,००० वर्ष पुराना पुराणिक चिन्हहरू भेटिएका छन । यता नेपालको पुरातत्व विभागले किच्चकवधमा पाइएका वस्तुहरूको प्रयोगशाला परीक्षणबाट करीब २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणीत भएको र अझै उत्खनन भइरहेको जनाएको छ । तर पूर्र्वी नेपाल र पश्चिम बंगाल बीचको मानव सभ्यताको उत्पत्ति र फैलावटलाई आधार मान्दा पनि डेल्टा र सोनापुरका पुरातात्विक ठाउँहरुसँग नेपालको सम्बन्ध रहेको प्रष्ट हुन्छ जसले किचकवधको २२सय बर्ष पुरानो भन्दा पुरानो सभ्यता रहेको पुष्टि गर्छ । यसबाट मानवहरूको आपसी अन्तरक्रिया, व्यापार, र सांस्कृतिक आदानप्रदानका आधारमा यी क्षेत्रहरूबीचको सभ्यताको सञ्जाल निर्माण भएको थियो भन्न सकिन्छ ।
कसैकसैले मेची नदी किनारमा बसोबास भएकाले यिनीहरूलाई मेचे भनिएको हो भन्ने तर्क पनि गरेका छन । तर, तथ्यहरू अध्ययन गर्दा र माथि उल्लेख गरिएको म्लेच्छ शब्दबाट नै मेचे शब्द बनेको तर्कलाई मान्ने हो भने हालको मेची नदीको नामकरण नभइकनै परापूर्वकालदेखि नै मेचे जातिको अस्तित्व रहेको देखिन्छ । त्यसकारण किनार क्षेत्रमा मेचेहरु बस्ने भएकोले नै त्यस नदीको नाम मेची रहन गएको हो भन्न सकिन्छ ।
यसरी परापुर्व कालदेखि बस्दै आएका मेचेहरुको नामबाट मेची नदीको नाम रहन गएको हो । नेपाललाई प्रशासनिक विभाजन गर्ने क्रममा मेची नदीकै नामबाट पुर्वको अञ्चललाई मेची अन्चल नाम दिइएको हो । मेची नदी, मेची अञ्चल पछि मेचेको नामबाट नामाकरण पाउने पछिल्लो सरकारी निकाय भनेको मेचीनगर हो । जहाँ मेची नदीसँगै मेचेहरुको जनसंख्या पनि बगीरहेको छ । बर्षेनी घट्दो जनसंख्याले तिनीहरुको अस्तित्व रक्षा गर्न जरुरी छ । दुई देशलाई छुट्याउने मेची नदीको पानी त निरन्तर बगीनै रहनेछ । तर संकटापन्न मेचेहरुलाई संरक्षण नगरे मेचेहरुको जनसंख्या अस्तित्व लडाई र संरक्षणको अभावमा बगेर सिद्धिने डर छ ।