बैंकको ब्याज निरन्तर ओरालो, कर्जाको लागत घट्दा पनि अर्थतन्त्रमा सुस्तता

बैंकको ब्याज निरन्तर ओरालो, कर्जाको लागत घट्दा पनि अर्थतन्त्रमा सुस्तता
  • २९ बैशाख २०८२, सोमबार १५:३०

काठमाडौं– वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंकहरूको कर्जाको औसत ब्याजदर २.३३ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।

mulpatra

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत महिनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर ८.२२ प्रतिशतमा झरेको छ । जुन गत वर्षको सोही महिनामा १०.५५ प्रतिशत थियो ।

ब्याजदर महिनैपिच्छे घटिरहेको देखिन्छ । बैंकिङ प्रणालीमा हाल लगानीयोग्य रकम प्रशस्त मात्रामा उपलब्ध छ । तर, कर्जाको माग अपेक्षाकृत कम देखिएको छ । जसका कारण बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदर पनि घटाइरहेका छन् । त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजदरमा देखिएको छ ।

mulpatra mulpatra mulpatra

राष्ट्र बैंकका अनुसार कर्जाको औसत ब्याजदर गत फागुनमा ८.४० प्रतिशत, माघमा ८.५५ प्रतिशत, पुसमा ८.६९ प्रतिशत, मंसिरमा ८.९० प्रतिशत, कात्तिकमा ९.०७ प्रतिशत, असोजमा ९.३३ प्रतिशत, भदौमा ९.५२ प्रतिशत र साउनमा ९.६८ प्रतिशत थियो ।

बैंकिङ क्षेत्रमा तरलता प्रशस्त भए पनि कर्जाको माग सुस्त हुँदा ब्याजदरमा निरन्तर गिरावट आएको केन्द्रिय बैंकले जनाएको छ । तिरन्तर ब्याजदर घट्दा लगानीकर्तालाई कर्जा लिन सहज बनाएको छ । यद्यपि, कर्जाको माग भने ज्यादै न्यून छ ।

कर्जाको लागत घट्नु भनेको सामान्यतः व्यापार, उद्योग तथा लगानीकर्तालाई ऋण लिन प्रोत्साहित गर्ने सकारात्मक संकेत मानिन्छ । बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त मात्रामा भए पनि कर्जाको माग न्युन छ । कर्जाको माग कमजोर हुँदा व्यापार व्यवसायमा नयाँ लगानी बढ्न सकिरहेको छैन ।

Image Source: © https://mulpatra.com

उपभोक्ताको खर्च क्षमतामा अपेक्षित सुधार नभएसम्म उत्पादन विस्तार, रोजगारी सिर्जना र उद्योग क्षेत्रको पुनरुत्थान चुनौतीपूर्ण नै रहने देखिन्छ । आर्थिक गतिविधि चलमायन हुन आवश्यक छ । अर्थतन्त्रमा गति ल्याउन ब्याजदर घटाउनु मात्रै पर्याप्त भने हुँदैन । निजी क्षेत्रको मनोबल, सरकारी नीति स्थायित्व, र आम उपभोक्ताको क्रयशक्ति पुनस्र्थपना भएसँगै बल्ल कर्जाको माग व्यापाक रुपमा बढ्ने जानकारहरु बताउँछन् ।

राष्ट्र बैंकका निक्षेपको औसत ब्याजदर एक वर्षको अवधिमा २.०८ प्रतिशत बिन्दुले घटेर ४.४५ प्रतिशतमा झरेको छ । गत वर्ष चैतमा यो ६.५३ प्रतिशत थियो । यस वर्ष फागुनमा ४.५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.५३ प्रतिशत र साउनमा ५.६६ प्रतिशत थियो ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत पनि कम भएको छ, जसका कारण बैंकहरूको आधार दर (बेस रेट) समेत घट्दो क्रममा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार, गत चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशतमा झरेको छ । एक वर्षअघि अर्थात् गत वर्षको सोही महिनामा यो ८.५१ प्रतिशत थियो् ।

बेस रेट क्रमशः फागुनमा ६.३४, माघमा ६.४६, पुसमा ६.६५, मंसिरमा ६.८२, कात्तिकमा ७.०२, असोजमा ७.२९, भदौमा ७.४९ र साउनमा ७.६१ प्रतिशत थियो । यो आधार दर वाणिज्य बैंकहरूको कर्जा मूल्य निर्धारणको मुख्य आधार हो । यसमा घट्दो प्रवृत्तिले व्यवसायिक कर्जाको लागत पनि घटाएको छ ।

त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर पनि उल्लेख्यरूपमा घटेको छ । विकास बैंकहरूको औसत कर्जाको ब्याजदर ९.५९ प्रतिशत कायम भएको छ, जुन गत वर्षको चैतमा १२.१७ प्रतिशत थियो । यस्तै, वित्त कम्पनीहरूको कर्जाको औसत ब्याजदर २.९६ प्रतिशत बिन्दुले घटेर हाल १०.४० प्रतिशतमा झरेको छ ।

विकास बैंकहरूको औसत निक्षेप ब्याजदर हाल ५.२२ प्रतिशत छ भने वित्त कम्पनीहरूको ६.२४ प्रतिशत रहेको छ । यीनहरुको आधार दर क्रमशः ८.३४ र ९.१७ प्रतिशत कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको औसत ब्याजदर पनि अघिल्लो वर्षको तुलनामा सामान्यरूपमा घटेको देखिन्छ । गत वर्षको चैतमा यो दर ३.१० प्रतिशत थियो । तर, यसवर्षको सोही अवधिमा ३ प्रतिशतमा झरेको छ ।
यस्तै, सरकारी ऋणपत्र (९१ दिने ट्रेजरी बिल) को भारित औसत ब्याजदर गत चैतमा ३.०६ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही समयमा ३.०० प्रतिशत थियो ।