जेठका लागि बैंकहरूको नयाँ ब्याजदर, तीनले बढाए

जेठका लागि बैंकहरूको नयाँ ब्याजदर, तीनले बढाए
  • १ जेष्ठ २०८२, बुधबार १०:१५

काठमाडौं– वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।

तीन बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् । समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।

अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।

केही बैंकलाई पूँजी कोषको दवाव छ भने केही बैंकलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दवाव छ । केही बैंकमा कर्जाको माग बढेको छ भने केहीमा माग नै छैन । यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा पनि ऋणीलाई राहत हुन्छ ।

कर्जाको माग न्यून रहनु र पूँजीगत खर्चको ‘सिजन’ रहेकाले ब्याजदर तत्काल बढिहाल्ने अवस्था नरहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताए ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर

बैंक ब्याजदर %, जेठ ब्याजदर %, वैशाख
नेपाल ५.४५ ५.१५
एसबीआई ५.५ ५.५
हिमालयन ५.५ ५.५
इन्भेस्टमेन्ट मेगा ५.५ ६.५
कृषि विकास ५.५१ ५.५१
सिटिजन्स ५.६५ ५.६५
लक्ष्मी सनराइज ५.७५ ५.७५
नबिल ५.७५ ५.७५
सिद्धार्थ ५.७५ ६
कुमारी ५.९१ ५.९२
ग्लोबल आईएमई ६ ६
माछापुच्छ्रे ६ ६
राष्ट्रिय वाणिज्य ६ ६
प्रभु ६.१ ६.१
प्राइम कमर्सियल ६.२५ ६.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२५
सानिमा ६.३३ ५.९५
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
एभरेस्ट ६.६४ ६.६१