Close

Recent Posts

धुलाबारीमा सि आइ बिको छापा केही व्यापारी पक्राउ

धुलाबारीमा सि आइ बिको छापा केही व्यापारी पक्राउ
  • १ जेष्ठ २०८२, बुधबार १७:३८

झापा, धुलाबारी । पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र धुलाबारीमा सि आइ बिले छापा मार्दै भन्सार छली, सुन कारोवारी र हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा केही व्यापारीलाई पक्राउ गरेको श्रोतले बताएको छ । लामो अनुसन्धानपछि गरिएको कारबाहीले धुलाबारीमा वर्षौंदेखि चल्दै आएको अवैध व्यापारको जालो नष्ट गर्ने अपेक्षा स्थानीयले गरेका छन् ।
विभागले तेस्रो देशबाट हुण्डीमार्फत रकम नेपाल भित्र्याउने गरेको आशंका पनि गरिएको छ । श्रोतका अनुसार चिनियाँ बजारमा रकम बुझाएर त्यसवापतको सामान नेपाल आयात गर्ने र त्यसपछि नेपालमा व्यापारीलाई सोही मूल्य बराबरको भुक्तानी गर्ने प्रवृत्ति लामो समयदेखि चलिरहेको थियो ।
श्रोतका अनुसार, पुर्वका व्यापारीहरूले होलसेल विक्रेताको आवरणमा म्याद गुज्रिएका तथा भन्सार छलिएका सामानहरू भारतबाट भित्र्याई पूर्वी पहाडी जिल्लासम्म विक्री वितरण गर्दै आइरहेको बताएको छ । स्थानीयहरूले पटक–पटक यस्तो गतिविधिको गुनासो गर्दै आए पनि सम्बन्धित निकायले समयमै कारबाही नगरेको जनगुनासो पनि थियो ।
भन्सार छली गरेर भारतबाट सामान भित्र्याउँदा ठुलो सेटिङ हुने गरेको पटक पटक सार्वजनिक हुने गरेको थियो । त्यसमा भन्सार कर्मचारी देखि सशस्त्र प्रहरीको समेत मिलेमतो देखिँदै आएको थियो । यसले नेपाल–भारत सीमामा हुने वैध व्यापारमा समेत प्रश्न उठाएको छ ।
व्यापारी पक्राउको विषयमा स्थानीय प्रहरी वेखबर छ । धुलाबारी प्रहरी प्रमुखले पक्राउको बारे आधिकारिक जानकारी नभएको तर केही व्यक्ति पक्राउ परेको भन्ने कुराको पुष्टि गरेका छन । आज विहानै घरबाटै पक्राउ परेको श्रोतले बताएपनि किन पक्राउ परेका भन्ने आधिकारिक खुल्न आएको छैन ।
सुन कारोबारीको समेत आशंका भएकाले धुलाबारीमा भइरहेको यस्ता अवैध कारोवारले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्दै आएको भन्दै स्थानीय व्यापारी तथा सरोकारवाला निकायहरूले सरकारले दीर्घकालीन सुधार योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

mulpatra