Close

निर्यात व्यवसायी महासंघमा गोविन्द घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

निर्यात व्यवसायी महासंघमा गोविन्द घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन
  • ३ जेष्ठ २०८२, शुक्रबार २२:५३

काठमाडौं  । नेपालमा निर्यात व्यवसाय प्रवर्द्धनमा क्रियाशील संस्था निर्यात व्यवसायी महासंघ नेपालले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले गोविन्द घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

mulpatra

महासंघको वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरण ढंगोल र एसोसिएटबाट उपाध्यक्ष शान्ता बास्कोटा, महासचिवमा शिव भट्ट, सचिव रेखा अर्याल र प्रदीप शाही, कोषाध्यक्षमा शैलेन्द्र गुराँगाई सहकोषाध्यक्षमा पुनम कार्की सहित २१ सस्यीय कमिटि चयन गरेको छ । निर्वतमान अध्यक्ष र तीन जना मनोनित गरि २५ जनाको कमिटि रहने व्यवस्था गरेको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका प्रमुख शरद विक्रम राणा, संघीय सांसद गणेश पराजुली, नेपालका लागि इजरायलका राजदूत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

निर्यात प्रवर्द्धनमा महासंघको भूमिका

निर्यात व्यवसायी महासंघ नेपालले स्थापना कालदेखि नै नेपाली वस्तुगत उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने, निर्यात प्रक्रियालाई सहज र प्रभावकारी बनाउने, तथा नीति निर्माण तहमा व्यापारीक समुदायको आवाज पुर्‍याउने कार्यमा उल्लेखनीय योगदान दिएको छ। संघले विभिन्न वस्तुहरूको निर्यातमा संलग्न व्यवसायीहरूलाई संगठित गर्दै आएको छ।

प्रमुख अतिथि मन्त्री भण्डारीले नेपाल सरकारले निर्यात अभिवृद्धि र प्रतिस्पर्धात्मकता विकासका लागि नीति, पूर्वाधार र प्रक्रियागत सुधारमा जोड दिइरहेको बताएका थिए। उनले महासंघलाई साझेदारको रूपमा लिँदै “सरकार र निजी क्षेत्रको सहकार्यबिनाको निर्यात विस्तार सम्भव छैन” भन्ने धारणा व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निर्यात व्यवसायी महासंघले छोटो समयमै व्यापक विश्वास कमाएको, व्यवसायीको हकहित संरक्षणमा आवाज उठाएको, र वस्तुगत क्षेत्रको समावेशीकरणमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे।

साधारण सभाको अवसरमा २३ विभिन्न वस्तुगत निर्यात क्षेत्रका व्यवसायीहरूलाई सम्मान गरिएको थियो। निर्यात प्रवर्द्धनमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरूको प्रशंसा गर्दै महासंघले उनीहरूको प्रेरणादायी कार्यलाई सार्वजनिक रूपले कदर गरेको हो।

अध्यक्ष घिमिरेको प्रतिबद्धता

नवनिर्वाचित अध्यक्ष गोविन्द घिमिरेले निर्यात व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र मूल्यवर्धित बनाउँदै लैजान महासंघ क्रियाशील रहने बताएका छन्। उनले नयाँ बजार पहिचान, नीति समायोजनको पहल, र व्यवसायीको क्षमता अभिवृद्धिमा जोड दिने योजना सुनाएका थिए।

निर्यात व्यवसायी महासंघ नेपालले निजी क्षेत्रका निर्यातकर्ताहरूलाई संगठित गर्दै नीति–निर्माता र व्यवसायीबीचको सेतुको भूमिका निर्वाह गरिरहेको छ। यो संस्थाले वस्तुगत उत्पादनमा आधारित निर्यातलाई व्यवस्थित ढंगले अगाडि बढाउँदै रोजगार सृजनामा योगदान दिइरहेको छ। पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले महासंघको दिगो मार्गचित्र र नयाँ नेतृत्वमार्फत थप सशक्त बनाउने संकेत दिएको छ।