तरुण कांग्रेसमा काटाकाट

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको जिल्ला अधिवेशनमा कुटाकुट मात्रै हो्इन काटाकाट समेत भएको छ । शनिबार लमजुङको बेंसीसहरमा सुरु भएको उद्घाटन सत्रकै क्रममा कार्यक्रम स्थलमा खुकुरी नचाउँदै कार्यकर्ता बीच कुटाकुट गरेका छन।
उद्घाटन सत्र चलिरहेका बेला एक समूह नाराबाजी गर्दै मञ्च नजिक पुग्यो। “एकलौटी गर्न पाइँदैन” भन्ने नारासहित कार्यक्रम स्थलमा प्रवेश गर्ने समूहले कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङविरुद्ध आक्रोश पोखेको थियो। आरोप थियो— गुरुङ समूहले फरक मत राख्नेहरूलाई पाखा पारेर अधिवेशन प्रतिनिधि छनोट गरेको छ। नाराबाजी गर्नेहरू पूर्व सभापति भेषबहादुर पौडेलका समर्थक हुन्।
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष जीतजंग बस्नेत र विशिष्ट अतिथि हालका अध्यक्ष विद्धान गुरुङ थिए। नाराबाजी भइरहेकै बेलामा स्थिति झनै तनावग्रस्त भयो। संस्थापन पक्षका कार्यकर्ताले विरोध गर्ने समूहमाथि खुकुरी प्रहार गरे। घटनामा चार जना घाइते भए।
घाइतेमध्ये बेंसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ र अर्का नेता सुदीप अधिकारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवन रिफर गरिएको छ। अन्य घाइतेहरूमा कांग्रेसका नेता किशोरकुमार बस्नेत र शंकर सापकोटा छन्।
घटनापछि अधिवेशनको बाँकी कार्यक्रम स्थगित गरिएको छ। निर्वाचन अधिकृत विजयप्रकाश अधिकारीका अनुसार उम्मेदवारको मनोनयन प्रक्रिया सकिएको छ भने बाँकी निर्वाचन प्रक्रिया जेठ १० गतेसम्मका लागि सारिएको छ।
लमजुङ कांग्रेसमा गुटबन्दीको इतिहास लामो छ। १३औँ महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी रहेका टकराज गुरुङ र भेषबहादुर पौडेलबीचको द्वन्द्व त्यसबेलादेखि झन् चर्किएको हो। पौडेलले १३औँ महाधिवेशनमा गुरुङलाई हराएर सभापति बनेका थिए। तर १४औँ महाधिवेशनमा गुरुङले पौडेल समूहलाई पराजित गर्दै सभापतिमा जित हात पारे।
त्यसयता दुबै पक्षबीच प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धा जारी छ। पछिल्ला चुनावहरूमा पनि दुवै जनाले आ–आफ्नो निर्वाचन क्षेत्रबाट प्रदेश सांसदका लागि उम्मेदवारी दिए र जिते। हाल टकराज गुरुङ गण्डकी प्रदेशका अर्थमन्त्री छन् भने पौडेल वनमन्त्री भएका छन्। दुवै नेताले मन्त्रालय र संगठनमा आफ्नो पकड कायम गर्न निरन्तर प्रयास गर्दै आएका छन्।
घटनापछि अर्थमन्त्री समेत रहेका टकराज गुरुङले आफू पार्टी कार्यालयमा छलफलमा व्यस्त हुँदा घटना भएको बताए। उनले भने, “घटना दुःखद छ। जसलाई चोट लाग्यो, कांग्रेसलाई नै लाग्यो। यस्ता घटना हुन नहुने हो।”
तर पूर्वसभापति भेषबहादुर पौडेलले भने यो पूर्व नियोजित आक्रमण भएको आरोप लगाए। “सदस्यता विवादको समाधान माग्दा हतियार प्रहार गरियो,” उनले भने, “कार्यक्रम स्थलमा खुकुरी कसरी पुग्यो? यो पूर्व योजना नै हो।”
पौडेलले पार्टीभित्र फरक मत हुनु स्वाभाविक भए पनि त्यसले आपराधिक रूप लिनु नहुने बताए। “आफ्नै पार्टीको कार्यक्रममा हतियार बर्सिनु दुःखद छ,” उनले भने।