सर्वोच्चको आदेश: सिभिल सहकारी प्रकरणमा इच्छाराज तामाङ थुनामै रहने

सर्वोच्चको आदेश: सिभिल सहकारी प्रकरणमा इच्छाराज तामाङ थुनामै रहने
  • ५ जेष्ठ २०८२, आईतवार २१:४२

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त तथा पूर्व सांसद इच्छाराज तामाङले थुनामुक्तिका लागि सर्वोच्च अदालतमा गरेकाे प्रयास असफल भएको छ। अदालतले उनलाई थुनामै राख्ने अघिल्लो आदेशलाई सदर गर्दै कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

mulpatra

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले तामाङको रिट खारेज गर्दै विशेष अदालतको आदेशलाई यथावत् राख्ने निर्णय सुनाएको हो। यससँगै तामाङ अब मुद्दाको पुर्पक्षका लागि थुनामै रहनेछन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोगमा तामाङविरुद्ध विशेष र जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। हजारौं सहकारी सदस्यको करोडौं रुपैयाँ हिनामिना गरिएको आरोपमा तामाङविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

mulpatra mulpatra mulpatra

तामाङले माघ महिनाको तेस्रो साता सर्वोच्च अदालतमा विशेष अदालतको थुनामा राख्ने आदेशविरुद्ध रिट दर्ता गरेका थिए। तर, सर्वोच्चले उक्त आदेशलाई वैधानिक ठहर गर्दै पुनरावलोकनको ढोका बन्द गरिदिएको छ।

सिभिल सहकारी काण्डले सहकारी क्षेत्रमै ठूलो चर्चा ल्याएको थियो। यो मुद्दाले नेपालको सहकारी प्रणालीप्रति बढ्दो अविश्वास र नियमनको खाँचोप्रति पनि गम्भीर प्रश्न उठाएको छ। अब तामाङको कानुनी लडाइँ विशेष अदालत र जिल्ला अदालतको कार्यसूचीमा केन्द्रित हुनेछ, जहाँ मुख्य मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ।