आईपीओ प्रक्रिया छोट्याउन सेबोनको तयारी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि घटाउने

काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीहरूले सर्वसाधारणका लागि जारी गर्ने साधारण सेयर (आईपीओ) को प्रक्रिया छोट्याउने तयारी अघि बढाएको छ। लामो समय लाग्ने प्रक्रियालाई प्रभावकारी बनाउँदै पाइपलाइनमा रहेका थुप्रै कम्पनीका आईपीओ स्वीकृतिमा तीव्रता ल्याउने उद्देश्यसहित सेबोनले कार्ययोजना सुरु गरेको हो।
बोर्ड स्रोतका अनुसार सेबोनले अहिले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आरक्षित आईपीओ आवेदन दिने अवधि छोट्याउने प्रस्तावलाई प्राथमिकतामा राखेको छ। हाल १५ दिनको आवेदन अवधि रहेकोमा यसलाई ५ दिनमा झार्ने तयारी भएको हो। स्रोतले भन्यो, “१५ दिनको अवधि छोट्याएर ५ दिन बनाएर मात्र पनि पूरै आईपीओ प्रक्रिया नै छरितो हुने देखिएको छ। यसै सन्दर्भमा कानुनी परामर्श र आवश्यक संशोधनको गृहकार्य भइरहेको छ।”
नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार, कुनै पनि कम्पनीले सर्वसाधारणका लागि आईपीओ ल्याउँदा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कम्तीमा १० प्रतिशत सेयर आरक्षित गर्नुपर्ने व्यवस्था छ। अहिले उनीहरूका लागि आरक्षित सेयर प्राथमिक चरणमा जारी गरिन्छ, त्यसपछि मात्र सर्वसाधारणका लागि बाँडफाँड गरिन्छ।
बोर्डले “धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका” को छैठौं संशोधनमार्फत वैदेशिक श्रमिकलाई १५ दिने आवेदन अवधि दिने व्यवस्था गरेको थियो। तर, आवेदन प्रक्रियामा लामो समय लाग्ने, बाँडफाँड ढिलो हुने र पूँजी बजारमै ढिलाइको असर पर्ने भएपछि बोर्डले यसमा फेरबदल गर्न लागेको हो।
यस कदमले प्राथमिक सेयर निष्कासन प्रक्रियामा चाँडोपन ल्याउनुका साथै पुँजी बजारको गतिको सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सेबोनले संशोधन कार्य चाँडै टुंग्याएर नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ।