सरकारले गणतन्त्र दिवस तीन दिनसम्म धूमधामले मनाउने

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म धूमधामले मनाउने
  • ६ जेष्ठ २०८२, सोमबार १९:४५

काठमाडौं । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवस २०८२ तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते देशभर गणतन्त्र दिवस मनाउने तयारी सार्वजनिक गरेको हो।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार, गणतन्त्र दिवसको मुख्य कार्यक्रम जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुनेछ। सो अवसरमा नेपाली सेनाले बिगुल, तोप, र रिभ्याली प्रस्तुत गर्नेछ। कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

गणतन्त्र दिवस मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, प्रहरी प्रमुखहरू, अनुसन्धान निर्देशक लगायत उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन्। गृह सचिव समितिका सदस्य–सचिव रहने छन्।

तीनै दिन देशभरका सार्वजनिक निकायहरूमा दीप प्रज्वलन गरिनेछ भने सरकारी निकाय, निजी क्षेत्र, संघसंस्था तथा स्थानीय तहमा तहगत समिति तथा उपसमितिहरू गठन गरी कार्यक्रम सञ्चालन गरिनेछ।

जेठ १४ गते संघीय, प्रदेश र स्थानीय तहमा विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायत जनचेतनामूलक कार्यक्रमहरू हुनेछन्। सञ्चारमाध्यमहरूलाई गणतन्त्र दिवससम्बन्धी विशेष स्मारिका र लेख संग्रह प्रकाशन गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, विदेशस्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा पनि विशेष कार्यक्रमहरू आयोजना गरिनेछन्। दरबार स्क्वायर, मण्डला लगायतका ऐतिहासिक स्थलहरूमा दीप प्रज्वलन गरिने छ।

जेठ १६ गते सरकारी कार्यालय तथा घरका छत र बारन्डामा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने कार्यक्रम रहनेछ।