राप्रपा पूर्व अध्यक्षहरूको आरोपः पार्टीका जिम्मेवार व्यक्तिबाटै लाञ्छना लगाउने काम भयो

राप्रपा पूर्व अध्यक्षहरूको आरोपः पार्टीका जिम्मेवार व्यक्तिबाटै  लाञ्छना लगाउने काम भयो
  • ८ असार २०८३, सोमबार १०:४२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्व अध्यक्षहरूले पार्टीभित्र जिम्मेवार तहका व्यक्तिहरूबाटै पूर्व अध्यक्षहरूमाथि लाञ्छना लगाउने र आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति बढेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्।

mulpatra

पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण योगदान दिएका नेतृत्वमाथि नै अनावश्यक आरोप लगाइनु दुःखद र अस्वीकार्य भएको बताएका हुन्।

उनीहरूले पार्टीको बृहत्तर हित, आन्तरिक एकता तथा लोकतान्त्रिक संस्कृतिको संरक्षणका लागि पटक–पटक सुधारका सुझाव दिँदै आएको भए पनि त्यसलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। पार्टीभित्र सङ्कुचित सोच, विधानविपरीत गतिविधि तथा पूर्वाग्रहपूर्ण कारबाहीको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति साङ्केतिक विरोधस्वरूप असार ५ र ६ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेको उनीहरूको भनाइ छ।

mulpatra mulpatra mulpatra

संयुक्त वक्तव्यमा राप्रपा अहिले वैचारिक, सङ्गठनात्मक तथा रणनीतिक दृष्टिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ। पार्टीलाई सशक्त राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।

पूर्व अध्यक्षहरूले अनुशासनको नाममा प्रतिशोध र व्यक्तिगत आग्रहका आधारमा कारबाही गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने बताएका छन्। साथै केन्द्रीय समितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने अभ्यासले पनि पार्टीभित्र प्रश्न उठाएको उनीहरूको भनाइ छ।

पार्टीभित्र बढ्दो निराशा र अविश्वासको वातावरण अन्त्य गर्न अध्यक्षको संयोजकत्वमा पूर्व अध्यक्षहरू समेत सहभागी हुने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न उनीहरूले सुझाव दिएका छन्। यस्तो संयन्त्रले पार्टीभित्र संवाद, सहमति र एकतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास उनीहरूको छ।

Image Source: © https://mulpatra.com

पूर्व अध्यक्षत्रयले आगामी २०८३ मङ्सिर २६ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णयको स्वागत गर्दै मिति घोषणा भइसकेपछि वर्तमान केन्द्रीय समितिलाई स्वतः महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने माग पनि गरेका छन्।

आफ्नो कुनै व्यक्तिगत स्वार्थ, पदको आकांक्षा वा गुटगत उद्देश्य नरहेको स्पष्ट पार्दै उनीहरूले पार्टी कमजोर वा पतन भएको अवस्था देख्न नचाहेको बताएका छन्। साथै पार्टी छाडेर गएका नेता–कार्यकर्तालाई पुनः फर्किन तथा वर्तमान कार्यकर्तालाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।

उनीहरूले आगामी महाधिवेशनले हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रलाई आधार बनाएर सुशासन, राष्ट्रिय एकता र समृद्धिको स्पष्ट वैचारिक मार्गचित्र प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। त्यसबाट मात्रै राप्रपाले जनविश्वास पुनः प्राप्त गर्न सक्ने उनीहरूको विश्वास छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com