गणतन्त्र विरुद्ध निर्णायक आन्दोलन, लिङ्देनले प्रधानमन्त्रीलाई ‘भाग्न हेलिकप्टरको छुट’ दिने चेतावनी
काठमाडौं । गणतन्त्र दिवसकै दिनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य राजावादी शक्ति समूहहरूले जेठ १५ बाट गणतन्त्र अन्त्य गर्ने उद्देश्यसहित ‘निर्णायक आन्दोलन’ सुरू गर्ने घोषणा गरेका छन्। मंगलबार काठमाडौंका सबै स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन शान्तिपूर्ण भए पनि निर्णायक हुने दाबी गरे।

भेलामा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै भने, “सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट भाग्ने मौका दिनुपर्छ। हामी हेलिकप्टरको सुविधा दिन तयार छौं। यसपालिको आन्दोलन टुंग्याएरै छोड्ने हो।”
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता सदनमा ‘कहाँ भाग्ने?’ भन्दै गरेको व्यंग्यको प्रतिवाद गर्दै लिङ्देनले बंगलादेशका शासकहरूजस्तै नेपालमा पनि भाग्नुपर्ने दिन आउने चेतावनी दिए।
![]() |
![]() |
![]() |
|---|
उनले राप्रपाको आन्दोलन अहिंसात्मक हुने स्पष्ट पार्दै भने, “१९० वर्ष लामो ब्रिटिश शासन सत्याग्रहबाट अन्त्य गरिएको थियो, हामी पनि सत्याग्रह र भद्र अवज्ञाको बाटोबाट गणतन्त्र अन्त्य गर्दै हाम्रो मान्यता पुनःस्थापित गर्छौं।”
२०७४ र २०७९ मा झापा–३ बाट प्रतिनिधि सभामा विजयी भएका लिङ्देनलाई दुवैपटक एमालेले चुनावमा साथ दिएको थियो। अहिले भने उनी एमालेकै समर्थनमा निर्वाचित भएर गणतन्त्र विरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका छन्।
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पनि आन्दोलनमा जनसहभागिता बढाउन आह्वान गर्दै देशको आमूल परिवर्तनको आवश्यकता औंल्याएका छन्।
Image Source: © https://mulpatra.com
लिङ्देनले सम्पूर्ण जनतालाई घरमा ताला लगाएर आन्दोलनमा सहभागी हुन र आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन्। साथै उनले सरकारलाई दमनकारी कार्य नगर्न चेतावनी दिंदै मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुगमन गर्न आग्रह गरेका छन्।
गणतन्त्र विरोधी आन्दोलनको घोषणा र नेतृत्व गर्दै राप्रपाले देशको राजनैतिक बहसलाई पुनः राजसंस्था र हिन्दू राष्ट्र स्थापनातर्फ मोड्ने संकेत दिएको छ।



