मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर
काठमाडौं– मलेसिया रोजगारीमा सिमित म्यानपावर कम्पनीलाई सिण्डिकेट लगाउने गरी सरकारमै सहभागी मन्त्रीहरुले सहजीकरण गरिरहेका छन् ।

परराष्ट्र मन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले नै मलेसियाको रोजगारीमा सिण्डिकेट खडा गर्न सिण्डिकेटको पक्षमा लाविङ गरिरहेका मेडिकल व्यवसायी कैलाश खड्कालाई ग्रिन सिग्नल दिएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
मलेसियाको रोजगारीमा सिण्डिकेट खडा गर्न नेपालबाट कैलाश खड्काले लविङ गरिरहेका छन् । खड्काले बंगलादेशी नागरिक अमिनसँग मिलेर श्रम, परराष्ट्र मन्त्री र केही उच्च कर्मचारीलाई आर्थिक प्रलोभन देखाएका छन् ।
नेपाली एजेन्ट कैलाश खड्का हुन् । भने अमिन मलेसियामा बसेर विदेशी कामदार भित्र्याउने कम्पनीमा बिचौलियाको काम गर्ने व्यक्ति हुन् ।
खड्काले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणमा सिण्डिकेट खडा गरी धन्दा चलाइरहेका छन् । उनी आवद्धमा ३६ वटा मेडिकललाई २०७५ सालमा तत्कालिन श्रम मन्त्री गोर्कण विष्टले कारवाही गरि बन्द गराएका थिए ।
तर राजनीतिक शक्तिका आडमा अहिले पनि उनले उक्त धन्दा चलाइरहेका छन् । त्यति बेला खड्काले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका नाम ९ अर्बभन्दा बढी ठगि गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
को–को छन् त मलेसियाको सिण्डिकेटका पछाडी
कमिशन पाएपछि जस्तोसुकै प्रतिबन्ध पनि फुकाउने गरी भुषण राणा लागि पर्छन् । उनी परराष्ट्र मन्त्री आरजु राणाका भाइ हुन । हाल खड्काले उनैको सहयोगमा मलेसिया रोजगारीको सेटिङ मिलाइरहेका छन् ।
उनीसँगै व्यवसायी दिपक मल्होत्रा पनि मलेसियाको सिण्डिकेटका लागि दौडधुपमा लागेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
ती कर्मचारीका अनुसार राणा र मल्होत्रा मलेसिया रोजगारीमा सिण्डिकेट मिलाउन राजनीतिक तहमा लविङ गरिरहेका छन् । उनीहरु दुवै जना वैदेशिक रोजगारीमा कामदार पठाउने सिप तालिमका लागि पनि आफनो पक्षमा ल्याउन पहल गरिरहेका छन् ।
उनीहरुसँगै मलेसिया जाने कामदारमाथि सिण्डिकेट लगाएर स्वास्थ्य परिक्षण गदै आएका कैलाश खड्का, कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङ, रविन गुरुङ र वाइवि राई लगायतका अन्य ६१ वटा म्यानपावर व्यवसायी छन् ।
सिण्डिकेटका लागि उनीहरुले प्रति म्यानपावर ६ करोड लगानी गर्न तयार भएको सिण्डिकेटभित्रै एक म्यानपावर व्यवसायीले जानकारी दिए ।
मलेसियाको सिण्डिकेटका लागि परराष्ट्र र श्रम मन्त्रीले सहयोग गरेपनि प्रधानमन्त्री केपी ओली नमानेको परराष्ट्र स्रोतले जनाएको छ । खड्काले नै मलेसिया रोजगारीमा सिण्डिकेट खडा गरि गैर म्यानपावर व्यवसायी छिराउँदै छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले मलेसियाको सिन्डिकेटविरुद्ध प्रतिबद्धता जाहेर नगर्ने म्यानपावर सञ्चालकको खोजी गरिरहेको छ । मंगलबारसम्म सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाएका व्यवसायीको नाम केलाउने काम भइरहेको उनले बताए । ‘मलेसिया मात्र होइन अब कुनै देशमा जाने कामदारमाथि सिण्डिकेट मान्य हुँदैन् । यादि मलेसियाको सिण्डिकेट लागू भए सबै व्यवसायीले सरकारलाई चाबी बुझाए व्यवसायी ठप्प हुन्छ ।’ उनले भने ।
करिब १ हजारको संख्यामा रहेका व्यवसायीमध्ये दुई तिहाइभन्दा बढी व्यवसायीले मलेसियामा कामदार पठाउने गरेका छन् । सर्बै म्यानपावर सिण्डिकेटविरुद्ध लड्ने उनको भनाइ छ ।
संघमा आवद्ध व्यवसायीले हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेट विरोधी आन्दोलनमा उत्रिएका आफ्ना सदस्यहरूलाई गतहप्ता सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको थियो ।
प्रतिबद्धता जनाउन कसैले इन्कारी वा अटेरी गरेमा कम्पनी र संचालकको नाम सार्वजनिक गर्ने योजनाका साथ काम भइरहेको संघले जनाएको छ ।

