ब्यूँतियो पतञ्जली जग्गा प्रकरण, अख्तियारलाई सघाउन रामदेव र बालकृष्ण तम्तयार
काठमाडौँ– हदबन्दीभन्दा बढ्ता परिमाणको जग्गा किनबेच गरेकोमा भइरहेको छानबिनमा नेपालको निकायलाई सघाउन भारतका योग गुरु स्वामी रामदेव तथा आचार्य बालकृष्ण तयार रहेको पतञ्जलि योगपीठ नेपालका अधिकारीहरूले बताएका छन्।

स्वामी रामदेव तथा आचार्य बालकृष्ण नेतृत्वको भारतस्थित पतञ्जलि योगपीठले नेपालमा पनि योग तथा आयुर्वेदको प्रवद्र्धनका निम्ति स्थापना गरेको संस्थाले हदबन्दीभन्दा बढ्ता परिमाणको जग्गा किनबेच गरेको सन्दर्भमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
बिहीवार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि उक्त प्रकरणमा छानबिन आवश्यक देखिएकाले अघि बढाउन नेपाल सरकार र अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
![]() |
![]() |
![]() |
|---|
२०६६ सालमा हदबन्दीभन्दा बढ्ता परिमाणको जग्गा खरिदबिक्री गर्न सरकारले स्वीकृति दिएको भन्दै पतञ्जलिले काभ्रे जिल्लामा किनेको ८१५ रोपनी जग्गा पछि फेरि सरकारको अनुमति लिएर बेचेको बताएको छ।
उक्त विषयमा अहिले भइरहेको अनुसन्धानमा आफूहरूले सहयोग गर्दै आएको सो संस्थाका अधिकारीहरूले बताएका छन्।
नेपालको जग्गाको हदबन्दीसम्बन्धी कार्यविधिले काठमाडौँ उपत्यका बाहेकका पहाडी क्षेत्रमा ७० रोपनीको अधिकतम हद कायम गरेको छ।
Image Source: © https://mulpatra.com
२०६४ सालमा नेपालमा स्थापित पतञ्जलिको कार्यालयलाई २०६६ माघ १८ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा नेपाल मन्त्रिपरिषद्को निर्णयले विभिन्न जिल्लामा जग्गा खरिद गर्न छुट दिएको थियो ।
त्यसपछि २०६६ चैत ६ गतेको मन्त्ती परिषदको निर्णयले खरिद गरिएका जग्गामध्ये केही जग्गा बिक्री गर्न पनि छुट दिएको थियो। खरिद र बिक्रीमा छुट दिएको निर्णयबीच डेढ महिनाको मात्र फरक देखिन्छ।
पतञ्जलि योगपीठ नेपालका प्रशासन प्रमुख युवराज खनालका अनुसार आयुर्वेदसम्बन्धी काम गर्न धेरै जग्गा आवश्यक परेको हुँदा हदबन्दी छुटको अनुरोध नेपाल सरकारसँग गरिएको थियो । तर काभ्रेको साँगामा किन्दै जाँदा जग्गा पर्याप्त नभएको र जग्गाको बीचबीचमा अन्य व्यक्ति तथा संस्थाले जग्गा खरिद गरेको कारण आफूहरूका निम्ति अनुपयुक्त हुन पुगेको उनले बताए ।
त्यसपछि साँगामा किनिसकेको जग्गा बिक्री गरी अन्य उपयुक्त स्थानमा जग्गा खरिद गर्न फेरि सरकारलाई अनुरोध गर्नु परेको खनालले बताए।
पतञ्जलि योगपीठले त्यस बखत मन्त्रिपरिषद्को अनुमति पाएपछि सवा चार करोडमा विभिन्न व्यक्ति तथा समूहलाई जग्गा बिक्री गरेको थियो । त्यसपछि त्योभन्दा कैयौँ गुणा धेरै पैसा खर्चिएर धुलिखेलमा जग्गा किनिएको खनालको दाबी छ । त्यहाँ अहिले विशिष्ट आयुर्वेद कलेज तथा आयुर्वेद अस्पताल सञ्चालनमा छ ।
‘त्यतिखेर हामीले बेच्दा कुनै जग्गा प्लटिङ् कम्पनीलाई बेचेका थिएनौँ। अनि ती किनबेच गरिएका जग्गा सार्वजनिक वा पर्ति नभइ निजी व्यक्तिका थिए र हामीले आफ्नै पैसाले किनबेच गरेका थियौँ’, खनालले भने ।
२०६९ सालमा अख्तियारले नै यो मुद्दाबारे छानबिन गरी अनुसन्धान अधिकृतले पेश गरेको प्रतिवेदन पश्चात् ‘हदबन्दीसम्बन्धी विषयबाहेक अन्य विषयवस्तु आयोगको क्षेत्राधिकार भित्रको विषय नभएको’ अनि हदबन्दी छुटको जग्गा बिक्री र खरिद गर्न नेपाल सरकारले नै छुट दिएको अवस्था देखिएको भनेर तत्कालीन उजुरीलाई तामेलीमा राखेको थियो।



