किन पक्राउ परे पत्रकार खेम भण्डारी ?
कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ बाट उनलाई पक्राउ गरेको हो।

भण्डारीविरुद्ध दर्ता भएको गाली बेइज्जतीसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते एक महिना सात दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उक्त फैसलाविरुद्ध भण्डारीले उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासमा पुनरावेदन गरेका थिए। तर उच्च अदालतले गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरेपछि सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
प्रहरीका अनुसार पक्राउपछि भण्डारीलाई कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइनेछ र अदालतको आदेशअनुसार सजाय कार्यान्वयन गरिनेछ।
भण्डारीविरुद्ध कञ्चनपुरका किरण विष्टले गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
खेम भण्डारी यसअघि पनि अदालतको फैसला कार्यान्वयनकै क्रममा पक्राउ परेका थिए। २०७६ सालमा पनि जिल्ला अदालत कञ्चनपुरले सुनाएको एक फैसला कार्यान्वयन गर्न उनलाई पक्राउ गरिएको थियो। त्यसबेला उनले अदालतले तोकेको कैद र जरिवाना भुक्तान गरेका थिए।
Image Source: © https://mulpatra.com
कञ्चनपुरका सक्रिय पत्रकारका रूपमा परिचित भण्डारीले २०७५ सालको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणपछि निरन्तर रूपमा उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने माग उठाउँदै आएका थिए। उनले विभिन्न समाचार, सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत घटनामा प्रभावशाली व्यक्तिको संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न राज्यमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। यद्यपि, उनले उठाएका दाबीहरू आधिकारिक रूपमा प्रमाणित भएका छैनन् र निर्मला पन्त हत्या प्रकरण अझै पनि सार्वजनिक चासोको विषयका रूपमा रहँदै आएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



