खेलकुदमा ६ अर्ब ८ करोड विनियोजन, दोब्बरले बढ्यो

काठमाडौं– युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।
आर्थिक वर्ष २०८१÷८२ को को भन्दा यो २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । यसअघि आव २०७६÷७७ मा विनियोजित ३ अर्ब ९९ करोड सबैभन्दा उच्च बजेट थियो ।
अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पुर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाए । त्यस्तै झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोट्र्स स्टेडियम निर्माण गरिनेछ ।
कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ ।
चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पति खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ । सुर्खेतको विरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड बजेट विनियोजन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बजेट उत्साहपूर्ण रहेकोताए । ‘राम्रो छ, उत्साह जगाउने खालको छ’ उनले छोटो प्रतिक्रिया दिँदै भने ।