Close

Recent Posts

बैंकको आधार दर यति छ, यी बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण

बैंकको आधार दर यति छ, यी बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण
  • २० जेष्ठ २०८२, सोमबार १०:२५

काठमाडौं– अहिले नयाँ ऋण लिँदा कुन बैंकमा सस्तो ब्याज पर्छ भन्ने कुरामा अलमलिनु पर्ने अवस्था छैन । पछिल्लो समय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) उल्लेख्य रुपमा घटेको छ ।

mulpatra

पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरू आधार दर झन्डै साढे २ प्रतिशत बिन्दु घटेको छ, जसको प्रत्यक्ष फाइदा ग्राहकहरूले कर्जाको ब्याजदरमा पाउनेछन् । बैंकहरूको आधार दर घट्नु ग्राहकहरूका लागि सकारात्मक संकेत हो, जसले कर्जाको ब्याजदरलाई कम बनाउँछ ।

हाल २० वाणिज्य बैंकहरूको औसत आधार दर हाल ६.२६ प्रतिशतमा झरेको छ । जबकि, गत वर्षको जेठ महिनामा भने ८.५७ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा नै २.३१ प्रतिशत बिन्दु घटेको छ ।

mulpatra mulpatra mulpatra

हाल बैंकहरूमा तरलता प्रशस्त छ, तर लगानीको माग अपेक्षाकृत कमजोर देखिएको छ । जसले बैंकहरूले निक्षेपको ब्याज घटाउँदै कर्जाको लागत समेत घटाएका छन् । यसले ऋण सस्तो बनाएको छ ।

साउनदेखि वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले कर्जा प्रवाह ७.४४ प्रतिशत वृद्धि गरेका छन् । यो अवधि भित्र कुल कर्जा प्रवाह ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्ष असार मसान्तमा ४५ खर्ब ७० अर्ब रुपैयाँ थियो ।

यसै अवधिमा निक्षेप संकलन पनि ६.७५ प्रतिशत बढेको नेपाल बैंकर्स संघको तथ्याङकले देखाउँछ । योसँगै निक्षेप ६१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । तर, कर्जा प्रवाहमा केही सुधार देखिए पनि अझै अपेक्षित स्तरमा पुगेको छैन् । तरलता प्रशस्त भए पनि लगानी वातावरण सुस्त भएकोले बैंकहरूले ऋण प्रवाहमा अझै गतिको खोजी गरिरहेका छन् ।

Image Source: © https://mulpatra.com

व्यक्तिगत, घरजग्गा, व्यवसायिक वा अन्य कुनै पनि प्रयोजनका लागि कर्जा लिने योजना बनाएका ग्राहकले कम आधार दर भएका बैंकहरु रोज्न सक्नेछन् । कम आधार दर भएका बैंकबाट ऋण लिनु फाइदाजनक हुन सक्छ । कम आधार दर भएका बैंकहरुमा कर्जाको ब्याजदर पनि कम हुन जान्छ । बैंकको कर्जा दर आधार दरमा प्रिमियम थप गरेर निर्धारण गरिन्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।

हाल दुई बैंकको आधार दर सबैभन्दा कम अर्थात् ५ प्रतिशत तल झरेको छ । हाल स्ट्यान्डर्ड चार्टर्डको र राष्ट्रिय वाणिज्य बैंकको बराबरी ४.९७ प्रतिशत कायम भएको छ । जबकि, गत आवको जेठ महिनामा यी दुई बैंकको आधार दर क्रमशः ६.७४ प्रतिशत र ७.३७ प्रतिशत रहेको थियो । हाल यी दुई बैंकबाट ऋण लिँदा तुलनात्मक ब्याज कम लाग्ने देखिन्छ । यस्तै जेठ महिनामा एभरेष्ट बैंकको ५.३८ प्रतिशत र नेपाल बैंकको ५.८२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.९१ प्रतिशत र नबिल बैंकको ५.९३ प्रतिशत कायम भएको छ । यी बैंकहरूबाट कर्जा लिँदा अन्य बैंकको तुलनामा ब्याजदर कम पर्न सक्छ ।

त्यसैगरि ग्लोबल आइएमइको आधार दर ६.१६ प्रतिशत, कृषि विकास बैंकको ६.२२ प्रतिशत, सानिमाको ६.३७ प्रतिशत, माछापुच्छ्रेको ६.४१ प्रतिशत, एनएमबिको ६.४३, सिद्धार्थको ६.४५ प्रतिशत, सिटिजनको ६.५३ प्रतिशत, नेपाल एसबिआई ६.५७ प्रतिशत, लक्ष्मी सनराइजको ६.६८ प्रतिशत, प्रभूको ६.७५ प्रतिशत, हिमालयनको ६.७७ प्रतिशत, कुमारीको ६.८, प्राइमका ६.८२ र एनआइसी एशियाको ७.२५ प्रतिशत रहेको छ ।