राजावादी आन्दोलन फितलो बन्दै गएपछि समिति नयाँ रणनीति बनाउन बैंठक बस्दै

काठमाडौं– राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलन अर्को चरणमा प्रवेश गरेको छ । गत चैत १५ गतेबाट सुरु भएको आन्दोलन हिजो एक साता पार भएको हो । राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउनका लागि आज बैठक बस्ने भएका छन् ।
सरकारले काठमाडौंका तीन स्थानबाहेक सबैतिर निषेधाज्ञा जारी भएपछि आन्दोलनलाई कसरी निरन्तरता दिने भन्नेमा राजावादी मोर्चा स्पष्ट भइसकेको छैन । यसै विषयमा आज बैठक बोलाइएको हो । पहिलो साताको आन्दोलनमा व्यापक जनसहभागिता भएको निष्कर्ष समितिले निकालेको छ । धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा आज २ बजे बस्ने बैठकमा ४४ वटै राजावादी घटकहरूको सहभागिता रहने भएको छ ।
संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल आन्दोलनको स्वरूप र शैली फेर्ने जानकारी दिए । उनले आन्दोलनको सुनवाइ र माग सम्बोधन गर्नुको साटो सरकारले उल्टो सबैतिर निषेधाज्ञा लगाएर अधिनायकवाद प्रदर्शन भयो ।
हिलेसम्म भद्र र शान्तिपूर्ण आन्दोलन गरिएकोमा सरकारले झनै अधिनायक शैली प्रदर्शन गरेपछि आफूहरूले पनि समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘सरकारले तोकिदिएको तीन ठाउँमा मात्रै आन्दोलन सीमित हुँदैन । यस्तो निषेधाज्ञा हामीलाई मन्जुर छैन ।’ उनले भने, उनले भने, ‘बाहिर अनर्गल प्रचारहरू भइरहेका छन् । मैले नबोलेका कुराहरूसमेत समाचार बनाइयो । राप्रपा आन्दोलनको अग्र मोर्चामै छ । आजको बैठकमा राप्रपाको सहभागिता हुन्छ ।’
राजावादी प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनबाट बाहिरिएको भनेर गरिएको प्रचारबाजी भएको उनको भनाइ छ । राप्रपाले पनि हिजो एक विज्ञप्ति जारी गर्दै पार्टीको विषयमा विभिन्न सञ्चारमाध्यममा दुष्प्रचार गरिएको भन्दै खण्डन गरेको थियो ।