हरिभक्तको संघर्ष गीतको भिडियो सार्वजनिक

काठमाडौं – गीतकार संघ नेपालको आयोजनामा काठमाडौंमा एक विशेष कार्यक्रमबीच श्रेय अगस्तीको स्वरमा रहेको ‘संघर्ष’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार हरिभक्त बुढाथोकीको शब्द, चेतन चुँडालको संगीत छ गीतमा ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा सरोज खनाल, दिपेन्द्र सोनाम र दिपेन्द्र राज गिरीको अभिनय छ । आएल्प शेर्पाको बाल अभिनयमा बनेको गीतको भिडियोमा पुनम चौधरीको शृंगार, दिनेश पराजुलीको छायांकन र विकास धमलाको दृश्य सम्पादन छ । भिडियोमा मानिसको जीवनको संघर्ष एवं एउटा पिता र उसको सन्तानको बिग्रेको सम्बन्धलाई दर्साइएको छ ।
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गीतकार आनन्द अधिकारी रहनुभएको थियो । यस्तै स्रष्टा र सिर्जनाका बारेमा प्राडा। खगेन्द्रप्रसाद लुइँटेलले बोल्नुभएको थियो भने बधाई तथा शुभकामना मन्तव्य संगीतकार दीपक जंगमले राख्नुभएको थियो । उहाँहरूले स्रष्टा हरिभक्तको व्यक्तित्व र कृत्विका बारेमा चर्चा गर्नुएको थियो ।