दोषजति प्रसाईलाई खन्याएर छुटेका मिश्र–राणा सम्पर्कमा नआएपछि दुवैका वकिललाई ५०–५० हजार जरिवाना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरुको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले मिश्र र राणाका वकिललाई जरिवाना तिराइएको जानकारी दिए । उनका अनुसार हाजिरी जमानीमा लिएर बुझ्नेहरुले उहाँहरुलाई बुझाउन नसकेपछि दुवै जनाको वकिललाई ५०÷५० हजार रुपैयाँका दरले जरिवाना तिराएको हो ।
अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिने दुई वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए ।
मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । त्यसपछि २ जेठमा प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो ।
मश्रभन्दा अगाडि ७ वैशाखमा राणा छुटेका थिए । उपचारका लागि भन्दै राणालाई छाड्नुपर्ने सरकारी वकिल कार्यालयको रायअनुसार प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । उनीविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहँदा उनी पनि सम्पर्कविहीन छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अनुसन्धान अधिकृतले जरिवाना तोक्ने सक्ने व्यवस्था उल्लेख छ । संहिताको दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकृतले छाड्न सक्ने व्यवस्था उल्लेख छ । दफा १५ को उपदफा (४) मा उल्लेख छ, ‘उपदफा (३) बमोजिम तोकेको समयमा त्यस्तो मानिसलाई उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
यसरी छाडिएका व्यक्तिलाई जसले बुझेको हुन्छ । पछि ती व्यक्तिलाई उपस्थित नराएको अवस्थामा बुझिलिने व्यक्तिलाई जरिवाना गर्न सकिने उल्लेख छ ।
गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । तीनकुने घटनामा संलग्न भएको आरोपमा मिश्र र राणालाई राजद्रोह, आपराधिक उपद्रव, संगठित अपराधको मुद्दा लगाइएको छ । उनीहरुसँगै यो घटनामा ४ बालकसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
यो मुद्दाको अहिले अदालतमा थुनछेक बहस सुरु भएको छ । जसमा उनीहरु प्रहरी सम्र्पक आएनन । त्यसपछि दुवै जनालाई प्रहरीले खोजी गरिरहेको छ । तर उनीविरुद्धको मुद्दा अदालत पुगेर बयान सकिँदा समेत उनी अहिलेसम्म उपस्थित भएका छैनन् ।
करिब दुई महिना लामो समय लगाएर गरेको यो अनुसन्धानका प्रतिवादीले भने दुर्गा प्रसाईंलाई दोष देखाएर बयान दिएका छन् । रवीन्द्रदेखि धवल शमशेर राणा समेतले आफूहरू अथिति मात्रै रहेको र यसको सम्पूर्ण जिम्मा प्रसाईं रहेको संकेत गर्दै बयान दिएका छन् ।
प्रसाईको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्ने अनुमति दिएको थियो । कार्यक्रमको आयोजक प्रसाईं नै भएको र सबै व्यवस्थापन उनैले गरेकाले यसको जिम्मेवारी उनैले लिनुपर्ने आसयको बयान दिएर राणा पन्छिएका छन् ।
प्रसाईंमाथि सम्पूर्ण आरोप थोपरे पनि उनीहरु आफैं पनि त्यस दिन तीनकुने पुगेर ‘हामी अगाडि बढ्ने हो, प्रहरीसँग डराउने होइन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो ।’ भनेर प्रदर्शनकारी उकासेका थिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो । यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो । प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए ।